सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले परिवर्तन रोज्छ : प्रसाइँ

२०८२ फाल्गुन १७, ०९:०६ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश प्रसाइँले धनगढी सचेत नागरिक बस्ने सहर रहेको भन्दै यसपालिको चुनावमा यहाँका मतदाताले परिवर्तन रोज्ने दावी गरेका छन् । रास्वपाले आज धनगढीमा गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यो चुनावमा परिवर्तनको पक्षमा मत दिन मतदातालाई आग्रह गरे ।

धनगढीमा कुनै पार्टीले ढुङ्गा उठाए पनि जित्छ भन्ने भास्यलाई यहाँका जनताले स्थानीय चुनावमै गलत सावित गरिदिएको उनको भनाइ थियो । यहाँका नागरिकले परिवर्तन चाहना राख्ने भएकाले नै धनगढीमा स्वतन्त्र उम्मेदवारलाई मेयरमा निर्वाचित गराएको उनले बताए ।

‘मेरो झापा त जागिसक्यो, झापाका पाँचै वटा क्षेत्रमा घण्टी बज्दैछ यसपालि’ उनले भने, ‘गोपी दाइको धनगढी जाग्यो कि जागेन । मेरो झापा त हाम फाल्यो परिवर्तनको लडाइमा, गोपी हमालको धनगढी हाम फाल्यो कि फालेन यो सोध्न आएको हुँ ।’ धनगढी पर्ने कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाबाट आनन्दबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन्।रास्वपाले पाँच वर्ष काम गर्ने अवसर पाए देश परिवर्तन गरेर देखाउने दावी गर्दै यो चुनावमार्फत् रास्वपालाई परीक्षण हुने अवसर दिन मतदातालाई आग्रह गरे । ‘एकपटक पाँच वर्षका लागि हामीलाई परीक्षण गर्नोस्, पाँच वर्षका लागि हेर्नोस् पारा ल्याएनौँ भने फेर्नोस्’ उनले भने, ‘विभेदरहित समाज, समुन्नत राष्ट्र चाहिए रास्वपालाई मत दिनोस् ।’ जेनजी आन्दोलनका सहिदको सपना साकार पार्न र देश परिवर्तन गर्नका लागि पनि रास्वपाको जित आवश्यक रहेको उनको भनाइ थियो ।
    

रास्वपाले सरकार बनाउने अवसर पाए देशका सबै ठूला भ्रष्टाचार काण्डको निस्पक्ष छानविन गरिने प्रसाइँले बताए । ‘४० सालयताका सबै काण्डको निस्पक्ष छानविन गराउनु छ । अख्तियार, अदालतजस्ता निकायलाई दलतन्त्रबाट मुक्त गर्नुपर्ने छ’ उनले भने । उनले देश परिवर्तनका लागि रास्वपाका पक्षमा देखिएको लहर कसैले रोक्न नसक्ने दावी गरे ।पुराना दलको जस्तो रास्वपाले तिनै मुद्दालाई वर्षौँसम्म चुनावी एजेण्डा नबनाउने प्रसाइँले दावी गरे । ‘फाप्ला स्टेडियमलाई, गेटा मेडिकल कलेजलाई हामीले उनीहरुजस्तो बीसौँ वर्ष भजाउँदैनौँ’ उनले भने, ‘तपाइ रास्वपालाई एकपटक परीक्षणका लागि मतदान गर्नोस् ।’
    

काँग्रेस–एमालेलाई भोट हाल्नु भनेको जेनजी आन्दोलनमा भएको नरसंहारलाई अनुमोदन गर्नु भएको उनले बताए । आफ्ना एजेण्डा बिक्न छोडेपछि पुराना दलले रास्वपाका विरुद्ध भ्रम फैलाएको उनले आरोप लगाए ।‘विदेशीबाट परिचालित हुन भनेर प्रोपोगण्डा गराइएको छ । यो देशमा एमसीसी कसले पास गर्‍यो, एमसीसी पास हुँदै गर्दा एमसीसीले तलमाथि गर्‍यो भने मेरो चारपाटा मोडियोस्, मलाइ थानकोट कटाइयोस् भनेर को गज्र्यो संसदमा ?’ उनले भने, ‘अनि अहिले हामीलाई विदेशीबाट परिचालित भन्छन् ।’
    

रास्वपाबाट कैलाली ५ का उम्मेदवार चन्दले देश परिवर्तनका लागि यस पटकको चुनावमा मत परिवर्तन गर्न आग्रह गरे । ‘देशलाई समुन्नत बनाउन, थिति बसाल्न, सुशासन कायम गर्नका लागि विवेक प्रयोग गर्न, मन परिवर्तन गर्न, मत परिवर्तन गर्न र नेता परिवर्तन गर्न आवश्य छ’ उनले भने ।केही वर्षमै धनगढीलाई मात्र नभइ देशलाई उचाइमा पुर्‍याउने लक्ष्य लिएर आफूहरु चुनावमा आएको चन्दले बताए । ‘नेपालको शिक्षा, रोजगारी आदि हरेक क्षेत्रमा कहालीलाग्दो अवस्था छ । त्यही भएर अब हामीले परिवर्तन गर्न जरुरी छ’ उनले भने ।
    

अहिलेको निर्वाचनलाई इतिहास बनाउनसक्ने निर्वाचनका रुपमा लिन पनि उनले मतदातालाई आग्रह गरे । ‘यो निर्वाचन सामान्य निर्वाचनमात्र नभएर देश परिवर्तन गर्ने इतिहास बन्नसक्ने निर्वाचन हो । त्यसैले यो निर्वाचनमा आफ्नो र आफ्नो भविष्यका लागि मतदान गरौँ’ चन्दले भने ।
    

उनले धनगढीलाई आर्थिक हब, शिक्षा, स्वास्थ्यको हब नबनाउँदासम्म धनगढीले ठूलो फड्को मार्न नसक्ने बताए । चन्दले देशमा केही पनि हुँदैन भनेर युवा विदेशिने अवस्थाका बिच आफू मातृभूमिको सेवा गर्न, यहीँ केही गर्नुपर्छ भनेर स्वदेश फर्केको बताए । यहाँको स्वास्थ्य, शिक्षाको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले यी सबै क्षेत्रमा अब परिवर्तन आवश्यक रहेको बताए ।

कमेन्ट लोड गर्नुस