रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई मात्रै भोट दिने कैलालीका बादी समुदायको घोषणा
घोडाघोडीः कैलालीका विभिन्न क्षेत्रमा बसोबास गरेका बादी समुदायले आफ्नो समुदायको मुख्य समस्या बेरोजगार रहेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।
कैलालीको लम्कीचुहा, टीकापुर, गोदावरीलगायतका पालिकामा बादी समुदायको बसोबास रहेको छ । लम्कीचुहा नगरपालिका–३, बल्चौरकी रमा बादीले सो बस्तीमा २३ जिल्लाका बादी समुदायको बसोबास रहेको बताइन ।
उनले बादी समुदायको बसोबासको ठेगान नभएको अवस्थामा तत्कालीन बादी समुदायको आन्दोलन र सङ्घर्षपछि सरकारसँग सम्झौता भएपछि धेरैको बसोबास टुङ्गो लागे पनि साँझबिहान छाक टार्ने समस्या समुदायमा रहेको बताइन्।
उनले बस्तीमा धेरै बादी समुदायको घर सरकारले बनाए पनि अझै केही परिवारको घर नहुँदा भारतमा रोजगार गर्न बाध्य भएको जानकारी दिइन्। उनले भनिन्, ‘पहिलाभन्दा त धेरै सजिलो भएको छ । लालपुर्जासहितको घरबास पाएका छौँ । भारतमा काम गर्न गएकाको अझै घरबासको टुङ्गो छैन । मत माग्न आउने सबै उम्मेदवारलाई बादी समुदायका परिवारलाई नेपालमै काम गर्ने वातावरण बन्नु प¥यो । क्षमता अनुसारको रोजगारी पाउनु पर्यो भनेका छौँ ।’
बर्दगोरिया गाउँपालिका–१, मुडामा रहेको बादी बस्तीमा पुग्दा धेरैका घरमा नास्ता पसल राखेको देखिन्छ । अधिकांश पसल सुनसान छन् । ६५ वर्षीय बुन्द्री बादीले काम नपाएर बस्तीका युवायुवती सबै कुलतमा लाग्न थालेको बताइन्।
उनले भनिन्, ‘घरमा चियानास्ता पसल खोलेका छौँ । कोही आउँदैनन्, व्यापार छैन । मेरा छोराबुहारी भारतमा काम गर्छन् । उनीहरूले पठाएको रकमले खर्च चलाउने गरेको छु ।” उनले बस्तीमा काम नपाएर धेरै युवा लागुऔषध, गाँजा खाएर बरालिँदै हिँडेको बताइन्। सोही बस्तीकी अनिता बादी आफ्नो समुदायका युवतीलाई प्राथमिकतामा राखेर रोजगारीका कार्यक्रम आउनुपर्ने बताउँछिन्।
पहिले बादी समुदायले गर्ने पुख्यौली पेसा अहिलेको पुस्ताले छोडिसकेको र खेतीपाती गर्न जग्गाजमिन नभएपछि उनीहरूलाई सिपमा आधारित रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने अनिताको भनाइ छ । उनले बस्तीमा भोट माग्न खासै उम्मेदवार नआएको बताउँदै मत माग्न आउने सबैलाई रोजगारी दिनेलाई भोट दिने माग राख्ने बताइन्।
बादी समुदायको अध्ययन गर्न २०६४ सालमा गठन गरिएको कार्यदलको अध्ययन प्रतिवेदनमा पनि जमिनदारी प्रथा उन्मूलनपछि यो समुदाय सहाराविहीन हुन पुगेको, त्यसपछि जीवन निर्वाहका लागि नाचगान गर्ने, मागेर खाने र घुमन्ते जीवन बिताउन विवश हुनु परेको र ‘समुदायमा केही प्रतिशत चेलीबेटी जीवन निर्वाहको अन्य विकल्प नहुँदा मीठो खान, राम्रो लाउन र अन्य सुख सुविधाका लागि तथा स्वयम् पुरुषहरूको बाध्यताले’ देहव्यापार पेसा अँगाल्न बाध्य भएको उल्लेख छ ।
राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन २०७९ अनुसार बादीको जनसङ्ख्या ११ हजार ४७० रहेको छ ।