सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मेयरले फेरि भने, 'म कुनै पार्टीमा लागेको छैन'

२०८२ फाल्गुन १७, ०२:५० खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफू कुनै पनि राजनीतिक दलको पक्षमा नलागेको स्पष्ट पारेका छन्। नगर प्रमुख हमालले विभिन्न मिडियमा आफूले कुनै अमुक दललाई समर्थन गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका छन्।

नगर प्रमुख हमालले आफ्नो फेसबुक पेजमा लेखेका छन्, '२०८२ फाल्गुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनको विषयसँग मलाई जोडेर 'पत्रिका नेपाल' लगायतका मीडियाले बनाएको समाचारमा कुनै पनि सत्यता नभएको सम्पूर्ण नगरवासीमा जानकारी गर्दछु।' 

यसअघि पनि नगर प्रमुख हमालले आफूले कुनै राजनीतिक दल र उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेका थिए। आफूलाई धनगढीका मतदाताले पाँच वर्षका लागि निर्वाचित गरेकाले उक्त जिम्मेवारी इमानदार भएर पूरा गर्ने मेयर हमालले बताएका थिए।

मेयर हमालले फागुन २१ को निर्वाचन र त्यसपछि समेत स्वतन्त्र नै रहेर धनगढीका मतदाताले सुम्पेको जिम्मेवारी पूरा गर्ने बताएका छन्। उनले भ्रामक र निराधार समाचारको नपत्याउन आग्रह गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस