एक्सिस विद्याश्रमको व्यवस्थापन मेला-२०८२ सम्पन्न
धनगढी: धनगढीको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयको आयोजनामा "एक्सिस व्यवस्थापन मेला-२०८२ सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको मेला शनिबार सम्पन्न भएको हो। उत्साह, प्रतिस्पर्धा र सिकाइको उत्कृष्ट वातावरणका माझ भव्य रूपमा मेला सम्पन्न भएको विद्यालयले जनाएको छ। व्यवस्थापन विषयप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने तथा उद्यमशील सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम विद्यालयका प्राचार्यको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा रहेका थिए।
मेलामा विशिष्ट अतिथिहरूमा कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक दिनेश पौडेल, नाष्ट कलेजका उप–प्राध्यापक प्रेम जोशी तथा ऐश्वर्य बहुमुखी क्याम्पसका उप–प्राध्यापक गोबिन्द उपाध्यायको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा सात वटा विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो। मेलामा व्यवस्थापन हाजिरी जवाफ, व्यवसाय योजना, व्यवसाय योजना प्रस्तुति लगायतका प्रतियोगितामार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र व्यवस्थापन सिप प्रदर्शन गरेका थिए। प्रतिस्पर्धा रोचक र उत्साहजनक बनेको आयोजकले जनाएको छ।
व्यवस्थापन हाजिरी जवाफ प्रतियोगितामा धनगढीको बाल्मिकी इन्टरनेशनल स्कूल प्रथम, आयोजक एक्सिस विद्याश्रम दोस्रो र नाष्ट कलेज तृतीय भएको छ।
यस्तै व्यवसाय योजना प्रस्तुतिमा धनगढीको ग्यालेक्सी स्कुल प्रथम, आयोजक एक्सिस विद्याश्रम दोस्रो भएको विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, निर्णायक, शिक्षकवृन्द, सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व, विश्लेषण क्षमता र उद्यमशील सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।