सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीको मृगौलामा समस्या, उपचारका लागि सिंगापुर जांदै

२०७६ भदौ ३, ०७:५३ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली मृगौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाने भएका छन्। १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’ को स्तर बढेको छ। ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मृगौलाको कार्यक्षमतामा ह्रास आउनु हो। 

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए। छाउनीमा प्रधानमन्त्रीको नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो। त्यसताका समेत उनको रगतमा ‘क्रिएटिनिन’ मात्रा बढेको पाइएको थियो।

चिकित्सकहरूका अनुसार रेनल (मृगौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मिर्गौलाको तन्तुको सानो नमुना निकालेर परीक्षण गरिन्छ। कहिलेकाहीं यो परीक्षण प्रत्यारोपण गरिएकोमिर्गौलाको अवस्था मूल्यांकन गर्नसमेत गरिन्छ। मृगौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा पिसाबमा प्रोटिन देखिए पनि यो परीक्षण गरिन्छ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएर ओली १० दिनपछि साउन २७ मा फर्किएका थिए। प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई कुन समस्या भएको, स्वास्थ्य स्थिति कस्तो छ भन्नेबारे कुनै जानकारी सार्वजनिक गरेकी छैनन। उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको स्तर अहिले र सिंगापुर जानुअघि समेत ‘बेसलाइन’ भन्दा बढी देखिएको छ। ‘क्रिएटिनिनको स्तरमा पहिला र अहिलेको अवस्थामा खासै कमी देखिएको छैन,’ उनले भने।

सिंगापुरमा उपचार गराउने क्रममा केही परीक्षण बाँकी रहेकाले समेत प्रधानमन्त्री ओली फेरि सिंगापुर जान लागेको ती चिकित्सकले बताए। ‘सिंगापुरमा चिकित्सकहरूले दिनहुँ दिने ‘इम्युनोसप्रसेन्ट’ औषधि मिलाएर दिइँदै छ । यसलाई थप मिलाउनुपर्ने भएकाले समेत सिंगापुर दोस्रोपटक जानुपर्ने भएको हो,’ उनले भने।

प्रत्यारोपणपछि अर्काको मिर्गौलालाई शरीरले अस्वीकार नगरोस् भनेर जीवनभर रोग प्रतिरोधक क्षमता कम गर्ने इम्युनोसप्रसेन्ट औषधि सेवन गर्नुपर्छ। यो औषधिमध्ये ‘टाक्रोलिमस’ ले मिर्गौलालाई क्षति र्पुयाउन सक्छ । एक मृगौला प्रत्यारोपण विशेषज्ञका अनुसार ‘इम्युनोसप्रसेन्ट’ औषधिले शरीरको संक्रमण प्रतिरोधी क्षमतामा कमी ल्याएर संक्रमणको जोखिम बढाउँछ। मिर्गौलाको कार्यक्षमतामा कमी आउनुको कारण सामान्य मृगौलाको संक्रमणदेखि लिएर मृगौलाले काम नगर्ने (किड्नी फेल) स्थितिसम्म हुन सक्ने एक प्रत्यारोपण विशेषज्ञले जानकारी दिए।

कमेन्ट लोड गर्नुस