१२ वर्षपछि विश्वकपमा नेपालको पहिलो जित
काठमाडौँः दीपेन्द्रसिंह ऐरीको शानदार अर्धशतकको मद्दतमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ।
मुम्बईस्थित वानखडे रंगशाला मा भएको खेलमा १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी रहँदा लक्ष्य पूरा गरेको हो। दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० रनभन्दा बढीको योगदान दिएर टोलीको जितमा निर्णायक भूमिका खेले।
यो जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो विजय हात पारेको छ। तेस्रो पटक विश्वकप खेलिरहेको नेपालको विश्वकप इतिहासमा यो तेस्रो जित हो। यसअघि सन् २०१४ मा चित्तागोङ मा भएको खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो। त्यसयता विश्वकपमा नेपालले ६ खेल गुमाएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
यसै संस्करणमा नेपाल इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भएको थियो। लगातार तीन हारपछि नेपाल यसअघि नै दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिसकेको थियो।