सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्वासप्रश्वास उपचार केन्द्र निर्माण छिट्टै हुन्छ : स्वास्थ्य मन्त्री यादव

। फोटो स्रोत ।
२०७६ भदौ १, ०५:२८ खबर संवाददाता

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निर्माण कार्य छिट्टै शुरु गरिने बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार केन्द्रको  निरीक्षण गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाइने बताए।

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको उपचार केन्द्रको निर्माणमा ढिलाइ भएको भन्दै मन्त्री यादवले यसलाई गम्भीररुपमा लिएर निर्माण कार्य अगाडि बढाउन सरकार दृढ रहेको प्रतिबद्धता जनाए। उनले भने, “उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि सहयोगी दाताको खोजी भइरहेको छ। सहयोगका लागि दातासँग कुरा पनि भएको छ। भारत सरकारले यसमा चासो देखाइरहेको छ।”

उपप्रधानमन्त्री यादवले भौगोलिकलगायत सबै हिसाबले उपचार केन्द्र निर्माण उपयुक्त ठाउँमा रहेको बताए। सरकारले यस वर्ष उपचार केन्द्रको पूर्वाधार विकासको काम गर्नका लागि बजेटको व्यवस्था गरेको सो अवसरमा उनले जानकारी दिए।

केन्द्रका सञ्चालक समितिका सदस्य राम भण्डारीले उपचार केन्द्रका समस्याका बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए। बेलचौतारामा करीब ७०० रोपनी जग्गामा निर्माण हुने केन्द्रको गुरुयोजनाको काम यसै वर्ष शुरु हुने भण्डारीले बताए।

स्थानीय बुद्धिजीवी प्रा डा. बुद्धिबहादुर थापाले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र निर्माणमा ढिलाइ नगर्न मन्त्री यादवको ध्यानाकर्षण गराए। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्मानमा विसं २०६७ मा उपचार केन्द्र स्थापना गर्ने निर्णय भएको थियो। स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनदेखि गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन जान्छन। पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित  जाने गरेका छन्। त्यसबाहेक सो उपचार केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्या पनि उल्लेख्य रहेको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस