सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेहडाबाबा खानेपानी आयोजनामा ८ वर्षमा ३८ प्रतिशत प्रगती

२०७६ भदौ १, ०४:२९ रोशन भट्ट

धनगढीको बेहडाबाबामा निर्माणाधिन अवस्थामा रहेको खानेपानी आयोजनाको आँठ वर्षमा ३८ प्रतिशत मात्र प्रगती भएको छ। धनगढी उप महानगरपालिकाको वडा नम्बर १६ मा निर्माणाधिन अवस्थामा रहेको उर्मा खानेपानी आयोजनाको प्रगती न्यून देखिएको हो। सो क्षेत्रका १२ सय भन्दा बढी घरधुरीलाई खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको आयोजना अलपत्र परेपछि आर्सनिक युक्त हाते पप्पको दुषित पानी पिउन बाध्य भएको शारदा भण्डारीले बताईन।

उनले आयोजना निर्माणको आठ वर्ष सम्म पनि प्रगती राम्रो नदेखिएपछि उक्त आयोजनाको पानी पिउने अशा मरिसकेको बताईन। आर्थीक वर्ष २०६८/०६९ बाट निर्माण सुरु गरिएको खानेपानी आयोजनाले गती नलिएपछि विरोध सुरु भएको हो। अहिले उपभोक्ता समिति संगै अन्य स्थानीयहरुपनि सरोकारवाला निकायको विरोध गर्न थालेका छन्। आवश्यकता अनुसार बजेट माग गरिएको भएपनि बजेट विनियोज हुन सकेको छैन।

विभिन्न निकायलाई गुहार्दा पनि वेवास्ता गरेको आरोप उपभोक्ता समितिका अध्यक्ष चक्र बमको छ। उप–महानगरपालिका संगै वडा कार्यालयले पनि चासो नदिएको आरोप लागेको छ। ६ हजार भन्दा जनसंख्या रहेको उक्त क्षेत्रका १२ सय २५ घरधुरीको लागि आयोजनाले पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ। जम्मा लागत स्टीमेटको ८० प्रतिशत नेपाल सरकारले व्यहोर्नपर्ने र बाँकी २० प्रतिशत बरावरको जन श्रमदान गर्नुपर्ने भएपनि आयोजनाको समयअवधि सकिन एक वर्ष मात्र बाँकी रहेका वेला आधा समेत प्रगती हुन नसकेको वडा नम्बर १६ का वडाध्यक्ष लक्ष्मी नारायण चौधरीले बताए।

आर्थीक वर्ष २०७७/७८ मा सम्पन्न गर्नुपर्ने आयोजनाको स्टीमेट पाँच करोडको भएपनि हाल सम्म ३० लाख भन्दा बढी कुनै पनि वर्षमा विनियोजन भएको छैन्। २० प्रतिशत आर्थात एक करोड बरावरको जनश्रमदान गर्नुपर्ने भएपनि आयोजना सम्पन्न गर्न अझै दुई करोड लाग्ने देखिएको छ। तर प्रदेशसभा सदस्य नेपालु चौधरीले भने उक्त खानेपानी आयोजनामा आवश्यक वजेट विनियोजन गरिने दावी गरे।

हाल सम्म उक्त आयोजनाको लागि दुई करोड ५२ हजार खर्च गरेर एक ओभरहेड ट्याकी, एक वोरिङ्ग, एक कार्यालय भवन, कम्पाउण्ड वाल र विद्युतिकरणको काम गरिएको छ। यो संगै २८ किलोमिटर पाईप लाईन विस्तार गर्नु पर्ने भएपनि हाल सम्म तीन किलोमिटर मात्रै पाईप लाईन विस्तार गरिएको खानेपानी डिभिजन कार्यालय धनगढीका सूचना अधिकारी गणेश उपाध्यायले बताए।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस