सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ मा उज्यालो नेपाल पार्टीका उम्मेद्वार चन्द्र साउँदद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

२०८२ फाल्गुन २, ०४:४० खबर संवाददाता

धनगढी: कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्। उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका साउदले पार्टीका नेतृत्वकर्ता कुलमान घिसिङको नेतृत्वमा आफू जनताको मुद्दा लिएर मैदानमा उत्रिएको बताएका छन्।

उम्मेदवारी घोषणा गर्दै साउदले देश र जनताको निम्ति जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले सुदूरपश्चिममा दशकौंदेखि जटिल सामाजिक–आर्थिक समस्याका रूपमा रहेका मुद्दाहरू समाधान गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहने बताएका छन्। विशेष गरी कमैया प्रथा प्रभावित परिवार, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनर्स्थापना, बेरोजगार युवाको रोजगारी र सुशासन स्थापनालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

साउदले कैलाली र कञ्चनपुरका ऐलानी तथा सार्वजनिक जमिनमा बसोबास गर्दै आएका हजारौं परिवारको समस्या दीर्घकालीन नीति निर्माणमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विगतदेखि नै कमैया प्रथाको अवशेष अन्त्य तथा पुनर्स्थापनाका लागि पहल गर्दै आएको दाबी गरेका छन्। “भूमिहीन नागरिकलाई अधिकारसहितको बसोबास दिलाउनु राज्यको दायित्व हो,” उनले भने।

उम्मेदवार साउदले आफू उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै कालोबजारी, भ्रष्टाचार र माफियाविरुद्धको अभियानलाई सदन र सडक दुवैबाट सशक्त बनाउने बताएका छन्। सबै नागरिकले स्वस्थ खानेकुरा, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको संवैधानिक अधिकार उपभोग गर्न पाउनुपर्ने उनको जोड छ। उनले स्वच्छ प्रतिस्पर्धा र सुशासनयुक्त समाज निर्माणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राखेको बताएका छन्।

साउदले धनगढी विमानस्थललाई स्तरोन्नति गरी राष्ट्रिय हबका रूपमा विकास गर्न पहल गर्ने बताएका छन्। हवाई भाडादरको असमानता घटाउन सम्बन्धित निकायसँग समन्वय गर्ने उनको प्रतिबद्धता छ। त्यस्तै, शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई राष्ट्रकै गौरवको ऐतिहासिक विश्वविद्यालयका रूपमा स्थापित गर्न पहल गर्ने तथा सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गराउने उनले बताएका छन्।


उच्च अदालत धनगढीमै कायम राखी डोटीमा उच्च अदालतको इकाई स्थापना गर्न आफूले पहल गर्ने पनि उनले उल्लेख गरेका छन्। पूर्वाधार विकासअन्तर्गत सडक, पुल, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बजेट विनियोजन गराउन सम्बन्धित निकायमा पहल गर्ने योजना उनले सार्वजनिक गरेका छन्।

साउदको प्रतिबद्धता–पत्रमा युवालाई प्राथमिकता दिइएको छ। उनले पाँच वर्षभित्र कृषि, सूचना प्रविधि, वन, जलस्रोत, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा १२ हजार बेरोजगार युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरेका छन्। सुदूरपश्चिममा स्मार्ट आईटी व्यवसायको प्रवर्द्धन गरी सामाजिक सञ्जाल र इन्टरनेटलाई आयआर्जनको माध्यम बनाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

प्रदेशस्तरीय सीप तथा रोजगार भवन स्थापना गरी युवालाई तालिम र रोजगारीसँग जोड्ने योजना पनि उनले अघि सारेका छन्। साथै, राष्ट्रिय स्तरको औषधि उद्योग स्थापना गरी रोजगारी सृजना र औषधिमा आत्मनिर्भरता बढाउने उनको लक्ष्य छ।

साउदले साना व्यवसाय प्रवर्द्धनका लागि ५० लाख रुपैयाँभन्दा कम लगानीका व्यवसायलाई ५० प्रतिशत सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई दबाब दिने बताएका छन्। बैंक तथा वित्तीय संस्थालाई जनतासँग प्रत्यक्ष जोड्ने नीतिगत सुधार आवश्यक रहेको उनको धारणा छ।

सहकारी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठनको पहल गर्ने र पीडितको रकम फिर्ता गराउने प्रतिबद्धता पनि उनले जनाएका छन्। सहकारी संस्थाको क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापन सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

प्रतिबद्धता–पत्रमा सनातन हिन्दु धर्मसम्बन्धी प्रदेशस्तरीय पुस्तकालय स्थापना गर्ने उल्लेख छ। सांस्कृतिक पहिचान र धार्मिक अध्ययन–अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो पहल आवश्यक रहेको उनले बताएका छन्।

 

कमेन्ट लोड गर्नुस