कैलालीको ग्रिन होम उद्योग परिसरमै शिशु स्याहार केन्द्र स्थापना, कर्मचारी महिलालाई सहज
कैलाली: बालबच्चाको हेरचाहका कारण उद्योग–कलकारखानामा कार्यरत कर्मचारी महिलाहरूले काम छोड्नुपर्ने समस्या बढिरहेका बेला कैलालीको एक उद्योगले यसको समाधानका लागि उदाहरणीय अभ्यास सुरु गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका–६, लालपुरमा स्थापना गरिएको ग्रिन होम प्रालि ले आफ्नै उद्योग परिसरभित्र शिशु स्याहार केन्द्र, प्राथमिक उपचार कक्ष तथा स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो । उक्त संरचनाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घ का कोषाध्यक्ष भरतराज आचार्य ले बिहीबार एक कार्यक्रमबीच गरेका हुन् ।
आचार्यले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक उद्योग संरचनाभित्रै शिशु स्याहार केन्द्र स्थापना गरिएको उल्लेख गर्दै यसलाई महिला–मैत्री उद्योगको उत्कृष्ट अभ्यास भएको बताए । काम गर्दै बच्चा स्याहार गर्नुपर्ने बाध्यता महिला कर्मचारीको सबैभन्दा ठूलो समस्या भएको र ग्रिन होमले त्यसको समाधान निकालेको उनको भनाइ थियो । उनले यो अभ्यास अन्य उद्योगले पनि अपनाउनुपर्ने बताए ।
करिब १० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त संरचनामा बालबालिकाका लागि पोषणयुक्त आहार, खेलकुद सामग्री तथा सुरक्षित वातावरणको व्यवस्था गरिएको छ । उद्योग सञ्चालक तथा कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव दिनेश लम्सालले बालबच्चाको कारण अनुभवी महिला कर्मचारीहरू काम छोड्न थालेपछि उद्योगमै शिशु स्याहार केन्द्र स्थापना गरिएको जानकारी दिए ।
उनका अनुसार हाल उद्योगमा ९२ जना महिला र ३२ जना पुरुष कर्मचारी कार्यरत छन् । मासिक करिब २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका महिला कर्मचारीहरू आफ्ना चार वर्षभन्दा कम उमेरका बालबालिकालाई उद्योगमै सुरक्षित रूपमा हेरचाह गर्न पाउने भएपछि उत्साहित भएका छन् ।
शिशु स्याहार केन्द्रमा खेल्दै सिक्ने सिकाइ प्रक्रिया अघि बढाइने नेपाल उद्योग वाणिज्य महासङ्घका सहायक निर्देशक हरि पौडेलले जानकारी दिए । उनका अनुसार शिशु स्याहार केन्द्र, स्तनपान कक्ष तथा ड्रेसिङ रुमका लागि भौतिक संरचना उद्योगले निर्माण गरेको हो भने आवश्यक सामग्री अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उपलब्ध गराइएको हो ।
कर्मचारीका चार वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यहाँ खेल्ने, सिक्ने र खाने व्यवस्था गरिएको छ । उनीहरूको हेरचाहका लागि सहजकर्ता समेत राखिने उद्योगले जनाएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका उपाध्यक्ष अनिल कुमार भोजनीया र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका राष्ट्रिय कार्यक्रम संयोजक तारा कडेंलले कैलालीमा सुरु गरिएको यो प्रयास सबै उद्योगका लागि आवश्यक रहेको बताए ।
उद्योग सञ्चालक लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुवर, कैलाली उद्योग वाणिज्य सङ्घ अध्यक्ष पुष्करराज ओझा, अत्तरिया उद्योग वाणिज्य सङ्घ अध्यक्ष कल्याणसिंह बोहरा, गोदावरी–६ का वडाध्यक्ष जग्गुराम चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रदेश महासङ्घका कार्यकारी निर्देशक ज्योति भट्टले गरेका थिए ।