सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीमा डुबेर ४ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ भदौ १, ०३:११ खबर संवाददाता

प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पानीमा डुबेर गएको २४ घण्टाभित्रमा चार जनाको मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ सिजुवाका शिव मुखियाका १० वर्षीय छोरा आकाश मुखियाको खोलामा डुबेर मृत्यु भएको छ। शनिबार बिहान घरबाट हिँडेका आकाश साँझसम्म नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय सिजुवामा खबर गरेका थिए। प्रहरीले उनलाई राति रतुवा खोलामा मृत अवस्थामा फेला परेको जनाएको छ।

यस्तै झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ विराट पोखरा बस्ने रोशन बेसराका २ वर्षीय छोरा अजित बेसराको खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ का ४० वर्षीय मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ।

यस्तै सुनसरीकै रामधुनी नगरपालिकामा पनि एक जनाको पोखरीमा डुबेर मृत्यु भएको छ। रामधुनी वडा नम्बर ६ ईचोल बस्ने ५० वर्षका सरिलाल राजधामीको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस