कञ्चनपुरमा शिवरात्रिलाई लक्षित गरेर लागू औषध विरुद्ध सचेतना कार्यक्रम
अत्तरियाः कञ्चनपुरमा शिवरात्रिलाई लक्षित गरेर लागू औषध तथा लागू पदार्थ दुरुपयोग विरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको छ । यूथ फोर्स नेपालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।
यूथ फोर्स नेपालले देशभर शिवरात्रिका नाममा हुने विकृति रोक्ने कार्य अन्तरगत बुधवार महेन्द्रनगरमा रहेको बैजनाथ मावीमा लागू औषध तथा लागू पदार्थ दुरुपयोग विरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको थियो ।
यूथ फोर्स नेपालका सचिव योगेन्द्र उपाध्यायको सभाध्यक्षमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका चेतराज पन्तले लागू औषध तथा लागु पदार्थ विरुद्ध सचेतना सम्बन्धी प्रस्तुति राखेका थिए ।
कार्यक्रममा यूथ फोर्स नेपालका उपाध्यक्ष रेखा भट्ट र कवेन्द्र जेठाराले शिवरात्रिको महत्त्व, मनाउने तरिका र लागू पदार्थको दुव्र्यसनि रोक्ने विषयमा प्रस्तुति राखेका थिए । कार्यक्रममा युथफोर्स नेपालका गजेन्द्र बहादुर बुढाले स्वागत मन्तव्य राखेका थिए भने अम्बा दत्त जोशीले यूथ फोर्स नेपालको गठन र उद्देश्यको बारेमा जानकारी दिएका थिए ।
सो क्रममा उनले यूथ फोर्स समाजमा विद्यमान विकृतिहरूको अन्त्य गर्नुका साथै अहिलेको युवा पुस्तालाई सकारात्मक सोच, अनुशासन, नेतृत्व, र सामाजिक जिम्मेवारीबारे सचेत गराउनु स्थापना गरिएको बताए ।
उनले शिवरात्रि पर्व भएकाले पर्वलाई शिवको आराधना गरी धार्मिक तथा सांस्कृतिक रूपमा मनाउनु पर्ने भएकाले पर्वको नाममा विकृति फैलाउने गाँजा भाङ धतुरो सेवन रोक्न आवश्यक रहेको बताए ।