केही निर्वाचन सामग्री छपाइ सम्पन्न
काठमाडौँः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका आवश्यकमात्रामा छापिई सकेर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। छापिएर आएका छपाइ सामग्री पनि निर्वाचनका अन्य सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने गरी तयारी भएको छ।
प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार छपाइ सामग्री आएको उनले सुनाए। बाँकी सामग्री पनि अब क्रमशः आएपछि जिल्ला जिल्लामा पठाउन तयारी अवस्थामा राखिने छ। मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको आयोगले जनाएको छ।