आज अन्तरराष्ट्रिय हिंसात्मक उग्रवाद रोकथाम दिवस मनाइँदै
काठमाडौं: आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस विश्वभर मनाइँदै छ। हिंसात्मक उग्रवादविरुद्ध चेतना अभिवृद्धि गर्नुका साथै अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले विभिन्न देशमा कार्यक्रम आयोजना गरिएको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सुरु गरिएको यो दिवस मनाउन थालेको यो चौथो वर्ष हो। राष्ट्रसङ्घको प्रधान कार्यालयसहित विश्वभर रहेका उसका विभिन्न कार्यालय, अन्तरसरकारी निकाय, नागरिक समाज, धार्मिक अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूले सहभागिता जनाउँदै हिंसात्मक उग्रवादको रोकथाममा ऐक्यबद्धता प्रकट गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रसङ्घले आतंकवाद र हिंसात्मक उग्रवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग नजोड्न आग्रह गर्दै यसविरुद्ध विश्व समुदायबीच समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ।
साथै संवाद, साझेदारी तथा समुदायको नेतृत्वमा आधारित समाधानमार्फत हिंसात्मक उग्रवादका मूल कारणहरू पहिचान गरी प्रभावकारी रोकथामका प्रयासहरू अघि बढाउनुपर्ने राष्ट्रसङ्घको भनाइ छ।