‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने
काठमाण्डौः आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन्। भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन्।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो। उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार तालिम पूरा भएका उनीहरुलाई चुनावी सुरक्षार्थ खटाउन लागिएको हो।
प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि गएको २१ गतेदेखि नेपाली सेना परिचालन भैसकेको छ।
नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ।