२१ फागुनको निर्वाचनः सुदूरपश्चिमका १६ सीटमा दलहरूको यस्तो छ दाबी
धनगढीः आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा राजनीतिक सरगर्मी तीव्र बनेको छ। उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै विभिन्न दलका उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय भएका छन्। आ–आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्दै उनीहरू मतदाता आकर्षित गर्न प्रयासरत छन्।
यस निर्वाचनमा सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सीटमा प्रतिस्पर्धा हुँदैछ। २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसले १६ मध्ये ८ सीट जितेर अग्रस्थान हासिल गरेको थियो। काँग्रेसले कैलाली ४ र ५, कञ्चनपुर २ र ३, डडेल्धुरा, दार्चुला, अछाम–२ र बाजुरामा जित निकालेको थियो।
त्यसपछि नागरिक उन्मुक्ति पार्टीले कैलाली १, २ र ३ मा विजय हासिल गरेको थियो भने तत्कालीन एकीकृत समाजवादीले बझाङ, डोटी र अछाम–१ मा जित हात पारेको थियो। नेकपा एमालेले बैतडी र कञ्चनपुर–१ मा मात्र सफलता पाएको थियो। काँग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गरे पनि माओवादी केन्द्रले कुनै सीट जित्न सकेको थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुदूरपश्चिममा खाता खोल्न सकेको थिएन।
आसन्न निर्वाचनमा भने प्रमुख चार दलहरूले आ–आफ्ना दाबी आक्रामक रूपमा प्रस्तुत गरेका छन्। अघिल्लो पटक ८ सीट जितेको काँग्रेसले यसपटक १० सीट जित्ने दाबी गरेको छ। काँग्रेसले कैलाली १, २, ३ र ५, कञ्चनपुर २, डोटी, डडेल्धुरा, बाजुरा, बैतडी तथा अछामको एक क्षेत्रमा जित सुनिश्चित रहेको जनाएको छ।
नेकपा एमालेले यसपटक १२ सीट जित्ने दाबी गरेको छ। एमाले उपमहासचिव तथा कैलाली–४ का उम्मेदवार लेखराज भट्टले पार्टीभित्रको विगतको कमजोरी सुधारिएको दाबी गर्दै यसपटक सुदूरपश्चिममा एमालेको लहर देखिएको बताएका छन्। एमालेले कैलालीका चार, कञ्चनपुरका तीन, अछामको एक क्षेत्र तथा बाजुरा, दार्चुला, बैतडी र बझाङमा जित हासिल गर्ने दाबी गरेको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले ९ सीट जित्ने दाबी गरेको छ। उक्त दलले कैलालीका तीन, कञ्चनपुरका दुई तथा डोटी, डडेल्धुरा, अछाम–१ र बाजुरामा विजय हासिल गर्ने दाबी गरेको छ। अन्य क्षेत्रमा पनि सम्भावना रहेको नेताहरूको भनाइ छ।
अघिल्लो निर्वाचनमा कमजोर उपस्थिति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक भने सुदूरपश्चिमका सबै १६ सीट जित्ने दाबी गरेको छ। देशभर पार्टीको लहर बढेको दाबी गर्दै रास्वपा नेताहरूले प्रदेशमा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा सुदूरपश्चिममा दलहरूबीच प्रतिस्पर्धा झन् चर्किँदै गएको छ। निर्वाचनको मिति नजिकिएसँगै राप्रपा, नेकपा माओवादी, नागरिक उन्मुक्ति नेपाल, उज्यालो नेपाल र केही स्वतन्त्र उम्मेदवारहरूले पनि चुनाव जित्ने दाबी पेश गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलाली-३ र ४, कञ्चनपुर ३, बैतडी र दार्चुलामा चुनाव जित्ने दाबी गरेको छ। यस्तै नागरिक उन्मुक्तिले कैलालीका तीन क्षेत्रमा जित निकाल्ने दाबी गरेको छ।