सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च
धनगढी: सुदूरपश्चिम प्रदेशमा शिशु तथा बाल मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२ को पूर्ण नतिजा प्रतिवेदनअनुसार सुदूरपश्चिममा नवजात शिशु मृत्यु दर प्रति हजार जीवित जन्ममा २६ रहेको छ।
प्रतिवेदनका अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर ३१ रहेको भए पनि सुदूरपश्चिममा यो दर ४८ पुगेको छ। गण्डकी प्रदेशमा भने पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर सबैभन्दा कम २० रहेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममध्ये २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ। त्यस्तै, नवजात शिशुहरूमध्ये एक महिनाको उमेर नपुग्दै १७ जनाको मृत्यु हुने गरेको उल्लेख गरिएको छ।
सुदूरपश्चिममा भने प्रति एक हजार जीवित जन्ममध्ये ३८ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ। त्यस्तै, नवजात शिशुहरूमध्ये एक महिनाको उमेर नपुग्दै २६ जनाको मृत्यु हुने गरेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा बाल स्वास्थ्य तथा पोषणको अवस्थाबारे पनि विवरण समेटिएको छ। छ महिनासम्म आमाको दूध मात्रै खुवाउने आमाको संख्या सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ। सुदूरपश्चिममा ७६.५ प्रतिशत आमाले जन्मेदेखि छ महिनासम्म शिशुलाई स्तनपान गराउने गरेका छन्।
यस्तै, १२–२३ महिनाका बालबालिकामध्ये १२ महिनाको उमेरभित्र गरिने खोपको अवस्थालाई हेर्दा सुदूरपश्चिम प्रदेशमा ९३.६ प्रतिशत बालबालिकाले सबै आवश्यक खोप लगाइसकेको प्रतिवेदनमा उल्लेख छ।
विद्युत् तथा टेलिफोन पहुँचको अवस्थासमेत प्रतिवेदनमा सार्वजनिक गरिएको छ। सातवटै प्रदेशमध्ये टेलिफोन पहुँचको अवस्था सुदूरपश्चिममा सबैभन्दा कमजोर देखिएको छ। नेपालभर ९५.५ प्रतिशत परिवारमा टेलिफोनको पहुँच रहेकोमा सुदूरपश्चिममा भने ९२.६ प्रतिशत परिवारमा मात्रै टेलिफोनको पहुँच पुगेको छ।