राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि
भजनी: टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुन्। राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका साउदले बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्दै आएका छन्। उनले धानखेती मात्र ३० देखि ३५ बिघामा गर्दै आएका छन्। यामअनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनमा जोड दिँदै आएका साउदले पछिल्लो समय उखुखेतीलाई प्राथमिकता दिन थालेका छन्।
गत वर्ष उनले झन्डै ४५ बिघामा उखुखेती गरेको जानकारी दिए। यस वर्ष थप आठ बिघामा उखुखेती विस्तार गर्ने तयारी रहेको उनले बताए। बर्दियाको राजापुर नगरपालिकामा स्थापना भएको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु सहजै खरिद गर्न थालेपछि अन्य खेतीभन्दा उखुलाई प्राथमिकता दिएको साउदले बताए।
“एकपटकको लगानीले पछिसम्म फाइदा लिन सकिन्छ भने बजार खोज्नुपर्ने अवस्था छैन,” उनले भने, “मूल्य पनि राम्रो पाइने भएपछि अन्य बालीभन्दा उखुलाई प्राथमिकता दिएका हौँ।” चिनी उद्योगले किसानको उखु प्रतिक्विन्टल ६९० रुपैयाँमा खरिद गर्दै आएको छ। यसमध्ये ६२० रुपैयाँ उद्योगबाट किसानले पाउँछन् भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने गरेको छ। यस वर्ष साउदले सात बिघामा आलुखेती पनि गरेका छन्।
वडा नम्बर ८ कै वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला पनि लामो समयदेखि उखुखेतीमा संलग्न छन्। दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारी सम्हालेका ठकुल्ला निर्वाचित हुनुअघि पनि कृषि क्षेत्रमा आबद्ध थिए। कृषिसँगै राजनीति गर्दै आएका उनले केही वर्षअघि गाउँमा गुदमिल सञ्चालन गरेका थिए, जुन अहिले बन्द छ। गत वर्षदेखि उनले पुनः उखुखेती विस्तार गरेका छन्। सात बिघामा गरिएको उखुखेती यस वर्ष थप विस्तार गर्ने योजनामा रहेको उनले बताए।
“आम्दानी राम्रो भएपछि म मात्र होइन, अन्य किसान पनि उखुखेतीमा लाग्न थालेका छन्,” उनले भने, “बजारको सहजता र थोरै लगानीमै राम्रो आम्दानी उखुखेतीले दिन थालेको छ।”
राजनीतिबाट समाजसेवा मात्र गरेर आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै वडाध्यक्ष ठकुल्लाले उत्पादनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए। समयको व्यवस्थापन गर्दै कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको उनले बताए। सिजनअनुसार आलु, मकै, धान, गहुँलगायतका बाली उत्पादन गर्दै आएको र पछिल्लो समय उखुखेती यस क्षेत्रमा लोकप्रिय बन्दै गएको उनको भनाइ छ। किसानले एक बिघामा ६०० क्विन्टलभन्दा बढी उखु उत्पादन गर्दै आएका छन्।
टीकापुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि लामो समयदेखि कृषि र व्यापारमा आबद्ध छन्। उनले बर्सेनि ९–१० बिघामा खेती गर्दै आएका छन् भने २०५३ सालदेखि व्यापार पनि गर्दै आएका छन्। कृषि, व्यापार र राजनीतिमा संलग्न न्यौपानेले राजनीतिले सन्तुष्टि मात्र दिने बताए।
“पैसा कमाउन व्यवसाय गर्नैपर्छ। व्यवसाय र राजनीतिलाई सँगसँगै लैजाँदा कुनै लोभ हुँदैन,” उनले भने, “राजनीतिमा भन्दा खेतमा काम गर्दा बढी सन्तुष्टि मिल्छ। हामीले काम गरेको देखेर गाउँका युवामा पनि काम गर्नुपर्छ भन्ने सोच बढेको छ।”
न्यौपानेले अन्य खेतीसँगै उखुखेती विस्तार गर्दै आएका छन्। दुई बिघाबाट सुरु गरेको उखुखेती यस वर्ष थप एक बिघा विस्तार गर्ने योजनामा छन्। केही समयअघि केराखेतीतर्फ आकर्षित किसान पछिल्लो समय उखुखेतीतर्फ फर्किन थालेका छन्। लगानी सुरक्षित भएपछि किसानले उखुखेतीलाई प्राथमिकता दिन थालेको स्थानीय कृषक सुन्दर चौधरीले बताए।
राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजलाई वार्षिक ३० देखि ३५ लाख क्विन्टल उखु आवश्यक पर्ने उद्योगका प्रशासन शाखा प्रमुख इन्द्र ढकालले बताए। उनका अनुसार हाल उद्योगको पहुँचमा छ–सात लाख क्विन्टल उखु मात्र पुगेको छ। पुस २२ गतेदेखि चिनी उत्पादन सुरु गरेको उद्योग उखुको आपूर्ति पर्याप्त नहुँदा नियमित रूपमा सञ्चालन हुन नसकेको उनले बताए।
दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उद्योगको वार्षिक ३५ हजार ५०० मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको छ। उखुखेती विस्तारका लागि उद्योगले पनि सक्रिय रूपमा काम गरिरहेको ढकालले बताए। टीकापुर नगरपालिकालगायत क्षेत्रमा उद्योगले जग्गा भाडामा लिएर उखुखेती सुरु गरिसकेको जानकारी दिँदै उनले बर्सेनि करिब सात हजार बिघामा उखुखेती आवश्यक पर्ने बताए। “किसानलाई खेती विस्तारमा कम्पनीले सहयोग गरिरहेको छ, साथै आफैँ पनि खेती विस्तार गर्दै आएको छ,” उनले भने, “कामदार अभाव र यातायातको सहज पहुँचजस्ता समस्या भने अझै छन्।”