कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती
दोधारा चाँदनी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर जिल्लामा चुनावी प्रचारप्रसार तीव्र बन्दै गएको छ।
लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने देखिएको छ। उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तारा लामा तामाङ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन्। नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनक धामी उम्मेदवार बनेका छन्। उपाध्याय र धामी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
यस क्षेत्रको चुनावी इतिहास हेर्दा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेस, २०५१ मा एमाले, २०५६ मा कांग्रेस, २०६४ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी), र २०७० मा पुनः कांग्रेसका उम्मेदवार विजयी भएका थिए। विगतका नतिजा अनुसार नेपाली कांग्रेसले २०४८, २०५६ र २०७० गरी तीन पटक जित हासिल गरेको छ। विसं २०६४ र २०७४ मा माओवादी केन्द्र तथा २०५१ र २०७९ मा एमाले विजयी भएको थियो।
विकास र सुशासन मुख्य एजेन्डा
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारले विकास र सुशासनलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। यस क्षेत्रमा दलहरूलाई आफ्नो पुरानो जनाधार जोगाउने चुनौती छ। यसपटक पुराना अनुहारलाई युवा उम्मेदवारले कडा चुनौती दिने देखिएको छ। समग्र चुनावी इतिहासमा कांग्रेसले तीन पटक र माओवादी केन्द्र तथा एमालेले दुई–दुई पटक निर्वाचन जितेका छन्।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राईले पार्टी पुरानो विरासत फर्काउने लक्ष्यसहित निर्वाचनमा होमिएको बताए। “गत भदौमा भएको जेन–जी आन्दोलनपछि राजनीतिमा युवाको माग बलियो बनेको छ, त्यसैले पार्टीले यसपटक युवालाई उम्मेदवार बनाएको हो,” उनले भने, “हाम्रो उम्मेदवार जनतामाझ लोकप्रिय छन् र मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ।”
विसं २०७९ मा यही क्षेत्रबाट निर्वाचित एमालेकी उम्मेदवार तामाङले रणनीतिका साथ निर्वाचनमा होमिएको बताइन्। प्रदेश सरकारमा मन्त्री र प्रतिनिधिसभा सदस्य हुँदा गरेका विकासका कामका कारण यसपटक पनि विजयी हुने दाबी उनले गरिन्।
नेकपाबाट उम्मेदवार बनेकी पूर्वमन्त्री मगरले पनि आफू विजयी हुने रणनीतिमा रहेको बताइन्। उनले यस क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै निर्वाचित भएमा विगतमा अधुरा रहेका काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
रास्वपाका उम्मेदवार जनक धामीले आफू जनताको सेवक भएर काम गर्ने धारणा राख्दै यसपटक मतदाताले परिवर्तन रोज्ने विश्वास व्यक्त गरे।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका पर्दछन्। यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता रहेका छन्।