सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ का नेकपा माओवादीका उम्मेदवार सिंहद्वारा चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक 

२०८२ माघ २६, ०४:१४ खबर संवाददाता

धनगढी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार बबरजंग सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
सुशासन, विकास र जनमुखी सेवाको एजेन्डासहित आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको चाहना अनुसार नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन् ।

उनले मुलुक अहिले भ्रष्टाचार, कमिसनखोरी, तस्करी र राजनीतिक अस्थिरताबाट थलिएको उल्लेख गर्दै यस निर्वाचनलाई व्यवस्था सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । “जनताले अब पुरानो शैलीको राजनीति होइन, परिणाम दिने नेतृत्व खोजिरहेका छन्,” उनले भने, “सुशासन र स्थिर सरकारमार्फत जनताको विश्वास जित्ने प्रतिबद्धता गर्छु ।”

उम्मेदवारले भ्रष्टाचार अन्त्यलाई पहिलो प्राथमिकता दिँदै शून्य–सहनशीलता नीति लागू गर्ने घोषणा गरेका छन् । स्वास्थ्य क्षेत्रमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ६०० शैयासम्म विस्तार गरी एमबीबीएस अध्ययन सञ्चालन गर्ने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउने योजना अघि सारेका छन् । गेटा विमानस्थललाई क्षेत्रीय अन्तरप्रदेशीय विमानस्थलका रूपमा विकास गर्ने पहलसमेत उनले गर्ने बताए ।

खेलकुद र पर्यटन प्रवर्द्धनमा पनि उनले जोड दिएका छन् । फाप्ला क्रिकेट रंगशालालाई पाँच वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको बनाइ क्रिकेटलाई व्यवसायिक बनाउने, जोखर ताल, शिवपुरी धाम र बेहडाबाबा क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

युवालाई लक्षित गर्दै प्राविधिक तथा सीपमूलक शिक्षा विस्तार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जनामा विशेष कार्यक्रम ल्याइने बताए । कृषिमा आधुनिक प्रविधि, सिंचाइ, मल–बीउ र बजार व्यवस्थापनमार्फत किसानको आम्दानी बढाउने, भूमिहीन तथा सुकुम्बासी समस्या वैज्ञानिक भूमि व्यवस्थापनबाट समाधान गर्ने उनको योजना छ ।

सहरी विकासतर्फ योजनाबद्ध बस्ती निर्माण, सडक, पुल, खानेपानी र विद्युत् विस्तार, डिजिटल सेवा घरदैलोमै पुर्‍याउने तथा आधारभूत सरकारी सेवा प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ । लागूऔषध दुरुपयोग नियन्त्रण, महिला सशक्तिकरण, ज्येष्ठ नागरिकमैत्री पार्क निर्माण तथा सामाजिक सुरक्षामा पहुँचविहीन समुदायलाई प्राथमिकता दिने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।

सहकारी, लघुवित्त र मिटरब्याज पीडितका समस्या समाधान गर्दै दोषीलाई कानुनी कारबाही गरिने, स्थानीय उद्योग र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धि बढाइने तथा विकास योजनामा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने उनले बताए । धनगढी बजार क्षेत्रमा रहेको आयल निगम डिपोलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने पहलसमेत गर्ने उनको भनाइ छ ।

अन्त्यमा उनले मतदातालाई साथ र सहयोगको अपिल गर्दै भने, “तपाईंहरू साथ दिनुहोस्, म सेवा गर्नेछु । यसपालि परिवर्तन र विकासका लागि गुलाफ चिन्हमा मतदान गर्नुहोस् ।”

कमेन्ट लोड गर्नुस