वनको जग्गामा बसिरहेको दलित बस्तीमा सधैं आश्वासन मात्रै
डडेल्धुराः हलिया मुक्त घोषणा गरेको १७ वर्ष बितिसक्दा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भेटामा रहेको दलित बस्तीका बासिन्दा अझै ‘कबुलियती’ वनभिक्र अस्थायी आवासमा जीवन बिताइरहेका छन्।
मुक्त हलियाको परिचयपत्र पाउनबाट छुट हुँदा राज्यले प्रदान गर्ने सेवा पाउनबाट यो बस्ती बञ्चित भएको हो। हलिया मुक्तिको घोषणाले उनीहरूको जीवन बद्लिन सकेन, बरु राज्यको बेवास्ता र चुनावी आश्वासनको चक्रमा यो बस्तीमा रहेका १४ दलित परिवार अल्झिँदै आएका छन्।
चुनावका बेला मात्रै स्थानीयले समस्या सम्बोधन हुने आश्वासन पाइरहेका छन्। सरकारले हलिया मुक्त घोषणा पछि यहाँबाट लगिएको तथ्यांक हराएकाले राज्यबाट मिल्ने सेवा नपाएको स्थानीयको गुनासो छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहवडाभित्र पर्ने यो बस्तीमा खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाको समेत अभाव रहेको छ।
स्थानीयले राज्यको उपस्थितिलाई कागजमै सीमित भएको बताउने गरेका छन्। स्थानीय सुगम विकका अनुसार विकासका पूर्वाधार भन्दा यो बस्ती टाढा छ। विद्यालय र स्वास्थ्य चौकी एक घण्टा पैदल दूरीमा छन्। ‘खानेपानीको समस्या छ, बिरामी हुँदा स्वास्थ्य चौकी पुग्नै गाह्रो हुन्छ,’ उनले भने, ‘हलिया मुक्त भनियो तर परिचयपत्रसमेत छैन, दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेका छौं।’