सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

२०८२ माघ २६, ०२:०५ रासस

काठमाडौँः आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ। 

भारतको कोलकतास्थित इडेन गार्डेनमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०८ रनको योगफल बनाएको हो। स्कटल्यान्डका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ५४ बलमा १३ चौका र दुई छक्का प्रहार गर्दै ८४ रन जोडेका हुन्। 
    
त्यसैगरी ब्रेन्डन म्याकमुलेनले अविजित ४१ रन जोडे भने माइकल जोन्सले ३७ रन बनाए। त्यस्तै माइकल लिस्कले २२ रन जोड्दा रिची बेरिङ्टनले १५ रन बनाए। इटाली अहिले जवाफी ब्याटिङमा उत्रेको छ। 

स्कटल्यान्ड र इटाली नेपाल रहेको समूह ‘सी’मा रहेका छन्। नेपालको समूहमा यी टोलीसँगै वेस्टइन्डिज र इङ्ल्यान्ड पनि समावेश छन्। विश्कपमा स्कटल्यान्डको यो दोस्रो खेल हो। यसअघि स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो। त्यस्तै इटालीको भने यो पहिलो खेल हो। समूह ‘सी’अन्तर्गत हिजो भएको खेलमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस