बैतडीमा मतदानस्थल निरीक्षण
बैतडीः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ।
जिल्ला सुरक्षा समितिको तर्फबाट मतदान स्थल निरीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। सुरक्षाको दृष्टिकोणले बैतडीका एक सय २९ मतदान स्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन्। यस्तै, २८ वटा मतदान स्थल संवेदनशील र ६८ वटा मतदान स्थल सामान्य सूचीमा परेका छन्।
अतिसंवेदनशील मतदान स्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। निरीक्षणका क्रममा मतदान स्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा लगायतसँग छलफल गर्ने गरिएको उनले जानकारी दिए।
निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत, खानेपानी लगायत आधारभूत कुराको उपलब्धतासम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको बताइएको छ। कतिपय मतदान स्थल तथा केन्द्रमा सिसीटीभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।
जिल्लामा एक सय २९ मतदान स्थलमा दुई सय १४ मतदान केन्द्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ जना मतदाता रहेका छन्।