डिसिएको टोली मुम्बई भ्रमणमा
धनगढीः धनगढी क्रिकेट एकेडेमी (डिसिए)को अन्डर–१६ टोली शुक्रवार भारतको मुम्बई भ्रमणमा निस्केको छ।
मुम्बई भ्रमणका क्रममा टोलीले भारतका विभिन्न ६ स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको डिसिएका अध्यक्ष सुवास शाहीले जानकारी दिए। टोलीले मुम्बईको ऐतिहासिक वानखेडे खेल मैदानमा आयोजना हुन लागेको नेपालसहित विभिन्न देशबीचका टी–२० विश्वकपका खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउने छ । टी–२० विश्वकप खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण हुने छ।
डिसिएका अध्यक्ष शाहीले विश्वकप खेलिरहेका खेलाडीलाई नजिकबाट देख्न पाउनु नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणाको स्रोत हुने बताए। धनगढी उपमहानगरपालिकाको ग्रासरुट क्रिकेट अभियानबाट उत्पादन भएका चार खेलाडी भ्रमणमा समावेश रहेका छन्।