सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी बस दुर्घटना: घाइतेमध्ये १२ जना उपचारपछि डिस्चार्ज, ५ जनाको धनगढीमा उपचार हुँदै

२०८२ माघ २३, ०४:०९ जयन्त सिंह भाट

बैतडीः बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा जन्ती बोकेको बस दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

डडेल्धुरा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाका अनुसार बिहीबार बेलुकी दुर्घटनापछि घाइतेहरूलाई विभिन्न सवारी साधनमार्फत राति १ः३० बजेसम्म उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको थियो। हालसम्म १२ जना उपचारपछि डिस्चार्ज भएका हुन्।

उपचारका लागि ल्याइएका ३२ घाइतेमध्ये ५ जनालाई मृत अवस्थामा अस्पताल ल्याइएको अस्पतालले जनाएको छ। ४ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने ५ जनालाई बिरामीको अनुरोधमा रिफर गरिएको छ। हाल ११ जना घाइते डडेल्धुरा अस्पतालमै भर्ना भई उपचाररत छन्। मृतक सबै ५ जनाको शव परीक्षण सम्पन्न भइसकेको छ।

यसैबीच, थप उपचार आवश्यक परेका ५ जना घाइतेलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ। निसर्ग अस्पतालका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारीको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोलीले घाइतेहरूको उपचार गरिरहेको अस्पतालले जनाएको छ।

निसर्ग अस्पतालका अनुसार घाइतेमध्ये केहीको टाउको, कम्मर र तिघ्रामा गम्भीर चोट लागेको छ भने सबै घाइतेको अवस्था चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ। 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस