सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा निर्वाचनका लागि सुरक्षा तयारी

२०८२ माघ २३, ०३:३१ खबर संवाददाता

बैतडीः प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडीमा सुरक्षा तयारी गरिएको छ। निर्वाचन सुरक्षाका लागि जिल्लाभर करिब दुई हजार छ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा निर्वाचन प्रहरी गरी दुई हजार ५९० सुरक्षाकर्मी खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।

आवश्यकता अनुसार सुरक्षाकर्मीको सङ्ख्या थपघट गर्न सकिने उनले बताए। निर्वाचनलक्षित बैतडीमा एक हजार ३७५ जना निर्वाचन प्रहरी छनोट भइसकेका छन्। 

उनीहरूका लागि हाल आधारभूत तालिम सञ्चालन भइरहेको छ, जसले मतदान स्थलको सुरक्षालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। 

सुरक्षा रणनीति अन्तर्गत नेपाली सेनाले पाटन, खोड्पे र शिवनाथको सुल्लेखानमा सुरक्षा बेस स्थापना गरिसकेको छ। त्यस्तै पाटन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा बेस पनि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १२९ मतदान स्थलमध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। जिल्लाभर २१४ मतदान केन्द्र कायम गरिएका छन्  

निर्वाचन व्यवस्थापनतर्फ पनि तयारी तीव्र पारिएको छ। निर्वाचनका लागि १० प्रतिशत जगेडासहित एक हजार ४४२ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। कर्मचारी परिचालनका लागि जिल्लास्थित सरकारी कार्यालयबाट विवरण सङ्कलन भइसकेको र छिट्टै खटनपटन प्रक्रिया अघि बढाइने उनले बताए। सुरक्षा, कर्मचारी व्यवस्थापन र पूर्वतयारीका सबै काम समयमै सम्पन्न गरेर मतदाताले ढुक्कसँग मतदान गर्न पाउने वातावरण बनाउँदै जाने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।   

कमेन्ट लोड गर्नुस