बैतडीका दुई हजार ४५३ किशोरीलाई एचपीभी खोप दिइने
बैतडीः बैतडीमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणलाई मध्यनजर गर्दै कक्षा ६ मा अध्ययनरत छात्रा तथा लक्षित उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइने भएको छ। पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही माघ २७ देखि फागुन २ गतेसम्म सञ्चालन गरिने भएको हो।
अभियानअन्तर्गत जिल्लाभरिका १० वटै स्थानीय तहमा दुई हजार ४५३ जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपर भाइजर निरीक्षक हरिश भट्टले बताए। भट्टका अनुसार कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी तथा गत वर्षको अभियानमा छुटेका किशोरीलाई लक्षित गरी खोप दिइनेछ। यस वर्षदेखि एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको उनले बताए।
जिल्लामा कक्षा ६ मा अध्ययनरत दुई हजार तीन सय ८६ जना र गत वर्ष छुटेका ६१ जना तथा विद्यालय बाहिर रहेका ६ जना किशोरी गरी कुल दुई हजार चार सय ५३ जनालाई खोप दिने लक्ष्य निर्धारण गरिएको हो।
यसअघि गत वर्ष सञ्चालन गरिएको अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरी १० हजार तीन सय १० जनालाई एचपीभी खोप दिइएको थियो। यस्तै जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा। पविन उपाध्यायले एचपीभी खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भएर लगाउन सकिने बताए।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुको ज्यान जाने प्रमुख कारणमध्ये एक भएकाले समयमै खोप लगाएर रोगबाट जोगिनु अत्यावश्यक रहेको उनले बताए।