सुदूरपश्चिमका कलाकारका सिर्जना समेट्दै धनगढीमा ललितकला प्रदर्शनी सुरु
धनगढीः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ। थारु कल्याणकारिणी सभा कञ्चनपुरको सहकार्यमा आयोजना गरिएको पाँचदिने प्रदर्शनीको lबxLबार कैलाली बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति नारदमणि हार्तमछालीले उद्घाटन गरेका हुन्।
यो प्रदर्शनी तेस्रो पटक आयोजना गरिएको हो। प्रदर्शनीमा विशेषगरी सुदूरपश्चिम प्रदेशका ललितकलाका विभिन्न विधाअन्तर्गत चित्रकला, हस्तकला, मूर्तिकला, लोककला लगायत विविध कलात्मक सिर्जनाहरू अवलोकन गर्न सकिने छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका लोककला तथा वास्तुकला विभाग प्रमुख प्रदीप अधिकारीले सुदूरपश्चिमका अवसरबाट बञ्चित कलाकारहरूका सिर्जनालाई उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए। उनका अनुसार पाँचदिने प्रदर्शनी अवधिभर चित्रकला सम्बन्धी कार्यशाला पनि सञ्चालन गरिने छ।
प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका विभिन्न एक सयभन्दा बढी कलाकारद्वारा निर्मित चित्र तथा मूर्तिहरू प्रदर्शनमा राखिएका छन्। साथै थारु समुदायका परम्परागत लोककला र समसामयिक कलात्मक सामग्रीहरू पनि प्रदर्शनीमा समेटिएका छन्।
उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै थारु समुदायका परम्परागत कलात्मक सामग्री निर्माणसम्बन्धी डेमो समेत देखाइएको थियो। कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति हार्तमछालीले ललितकला संरक्षण र प्रवर्द्धनमा यस्ता प्रदर्शनीहरू महत्वपूर्ण हुने बताए।
त्यस्तै कैलाली बहुमुखी क्याम्पसका प्रमुख सह प्राध्यापक लोकबहादुर बिष्टले शैक्षिक संस्थामा कला र संस्कृतिको प्रवर्द्धन आवश्यक रहेको धारणा राखे। प्रतिष्ठानसंग सहकार्यगरी लोककलालाई अतिरिक्त विषयका रुपमा अध्ययन गर्न पहल गर्ने पनि उनले बताए।