रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज पुनः सुनुवाइ
धनगढी: नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिटमा पुनः पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट सुनुवाइका लागि पेशीमा परेको हो।
उम्मेदवारी खारेजीसम्बन्धी रिटलाई सुनुवाइ सूचीको पहिलो नम्बरमा राखिएको छ। यसअघि माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।
माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल पूर्वआदेशअनुसार पेश गर्न निर्देशन दिएको थियो। सो आदेशको कार्य सम्पन्न भई मिसिल प्राप्त भएपछि आजका लागि सुनुवाइ तोकिएको हो।
चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं। १ बाट मनोनयन दर्ता गरेका थिए। तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।