गोदावरीमा १४ सय किशोरीलाई एचपीभी खोप लगाइने
धनगढीः कैलालीको गोदावरी नगरपालिकाका १ हजार ४०७ बालबालिकालाई ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ।
आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘एचपिभी’ खोप अभियान अन्तरगत सो सङ्ख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थले यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने बालबालिकालाई लक्षित गरी खोप लगाइने बताए।
उनले कक्षा ६ मा पढ्ने, गत वर्ष ११ देखि १४ वर्ष उमेरका खोप नपाएका, स्कुलमा नजाने खोप नपाएका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने उनले बताए। उनले यो खोप एक पटक मात्रै लगाइने भएकाले गत वर्ष लगाएकालाई लगाउन आवश्यक नभएको बताए। गत वर्ष नगरपालिकाले करिब ६ हजार ६ सय ६४ किशोरी खोप लगाएको थियो। १० देखि १४ वर्ष उमेर समूहका कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइएको थियो।
अब यो उमेर समूहमा प्रवेश गरेकालाई खोप लगाइने छ। खोप लगाउनका लागि ६२ वटा केन्द्र तोकिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए। खोप लगाउनका लागि आवश्यक तयारी भइरहेको उनले बताए। नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ।
जसमध्ये हरेक वर्ष १ हजार ३१३ जना महिलाको मृत्यु हुने अनुमान छ। महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो कारण रहेको भए पनि क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ। पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसको कारण हुने र, यसका २ सय प्रजाति भए पनि १६ र १८ बढी जोखिममा रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन्।