सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मतदान केन्द्रमा १५ हजार ३९३ कर्मचारी खटाइने

२०८२ माघ २१, ०३:१० खबर संवाददाता

अत्तरियाः सुदूरपश्चिमका २ हजार १९९ मतदान केन्द्रमा १५ हजार ३९३ कर्मचारी खटाइने भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन प्रत्येक केन्द्रमा ७ जना सम्म खटाउने गरी उक्त सङ्ख्यामा कर्मचारी खटाइने भएका हुन।

प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार मतदान केन्द्रमा निर्वाचन गराउन सङ्घ, प्रदेश र पालिका तहका कर्मचारी, सरकारी स्वामित्वका कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी खटाइने छ। कार्यालय प्रमुख प्रेमराज भट्टले प्रत्येक मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक सहायक निर्वाचन अधिकृत, एक सहायक कर्मचारी र स्वयंसेवक गरी सात जनासम्म खटाउने गरी व्यवस्थापन भइरहेको र अपुग भएमा शिक्षकलाई पनि खटाउने तयारी रहेको बताए।

जिल्लागत रूपमा ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा ४ हजार ४८७, ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा २ हजार ५२० र २ निर्वाचन क्षेत्र रहेको अछाममा १ हजार४९१ कर्मचारी परिचालन गरिने छ । यस्तै एक निर्वाचन क्षेत्र रहेको डोटीमा १ हजार २६०, दार्चुलामा १ हजार एक, डडेलधुरामा ९ सय ८७, बाजुरामा ८ सय २६, बझाङमा १ हजार ३२३ र बैतडीमा १ हजार ४९८ कर्मचारी खटाउन लागिएको छ। प्रदेशका सबै ९ जिल्लामा गरी १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्रको व्यवस्था गर्न लागिएको छ।

प्रदेशमा ८ लाख ६४ हजार ४२३ महिला र ८ लाख ५२ हजार २१९ पुरुष समेत गरेर कूल १७ लाख १६ हजार ६६० मतदाता छन्। पछिल्लो समय गरिएको मतदाता नामावली सङ्कलनका क्रममा ४६ हजार २० मतदाता थपिएका थिए।

कमेन्ट लोड गर्नुस