सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमै सशस्त्र प्रहरीको बेस स्थापना हुँदै

प्रतिकात्मक तस्बीर
प्रतिकात्मक तस्बीर
२०८२ माघ २०, ०४:४३ खबर संवाददाता

धनगढी: सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । सुरक्षा योजनाअनुसार प्रदेशभर सशस्त्र प्रहरी परिचालन सुरु भइसकेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीका अनुसार प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

उनले माघ २१ गतेदेखि प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । उक्त सुरक्षा बेस डीएसपीको कमाण्डमा रहनेछ ।

एसएसपी सुवेदीका अनुसार फागुन ६ गतेदेखि सशस्त्र प्रहरीको मोबाइल टोली परिचालन गरिनेछ भने रिजर्भ र क्यूआरटी टोलीलाई पनि तयारी अवस्थामा राखिनेछ । साथै बाहिनीस्तरमा प्रदेशस्तरीय रिजर्भ तथा अनुगमन टोली गठन गरिएको छ । निर्वाचन अवधिभर प्रदेशभर करिब पाँच हजार एक सय सशस्त्र प्रहरी परिचालन गर्ने तयारी रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा कुल एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् । यस्तै ३०० मतदानस्थल सामान्य र ३९५ संवेदनशील छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील रहेका छन् ।

कमेन्ट लोड गर्नुस