मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्ने स्पष्ट पारे। विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गरिने उनले जानकारी दिए।
कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उनले उल्लेख गरे। अत्यन्तै असहज अवस्था सिर्जना भएमा मात्र दोस्रो चरणमा निर्वाचन गर्ने विकल्पबारे सोच्न सकिने उनको भनाइ थियो। हालसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयमा छलफलसमेत नभएकाले आगामी फागुन २१ गते निर्धारण गरिएको निर्वाचनमा ढुक्कका साथ जुट्न उनले आग्रह गरे।
समयमै निर्वाचन सम्पन्न भई नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हाल्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले जनाए।
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले शतप्रतिशत प्रयास गरिरहेको उनले स्पष्ट पारे।
विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती देखिए पनि तिनको समाधान गर्दै निर्वाचन सम्पन्न गरिने प्रधानमन्त्री कार्कीको भनाइ छ।