नेपाल आदिवासी ज्ञान सम्मेलन हुने
काठमाडौँः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाउने भएको छ। रजत जयन्तीका अवसर पारेर प्रतिष्ठानले ‘नेपाल आदीवासी ज्ञान सम्मेलन–महोत्सव २०८२’ समेत आयोजना गर्ने घोषणा गरेको छ।
प्रतिष्ठानले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत ‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ रजत जयन्ती मनाउन लागिएको जानकारी दिएको हो। सम्मेलनमा प्रतिष्ठान स्थापनादेखि हालसम्म भएका उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे समेत जानकारी गराइएको थियो।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले यही माघ २७ गते आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए।
उनका अनुसार ती कार्यपत्रमा आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैङ्गिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण तथा समावेशी विकासका विविध पक्ष समेटिएका छन्।
उपाध्यक्ष गुरुङले भने, 'आदिवासी जनजातिको मौलिक ज्ञान र अनुभवलाई अभिलेखीकरण गर्दै राष्ट्रिय विकाससँग जोड्नु आजको आवश्यकता हो, रजत जयन्ती तथा ज्ञान सम्मेलनले नीति निर्माण तहसम्म प्रभाव पार्ने अपेक्षा गरेका छौँ।' उक्त सम्मेलन तथा महोत्सवकै अवसरमा प्रतिष्ठानका अध्यक्ष एवं प्रधानमन्त्री शुशिला कार्कीको प्रमुख आतिथ्यतामा रजत जयन्तीको औपचारिक समापन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
रजत जयन्ती तथा नेपाल आदीवासी ज्ञान सम्मेलन–महोत्सवमा नेपालका विभिन्न भू–भागका साथै विदेशबाट समेत कम्तीमा ८०० भन्दा बढी आदिवासी जनजाति अभियन्ता, अध्येता, विद्वान् व्यक्तित्व, अनुसन्धानकर्ता, युवा तथा विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ।
सहभागीहरूले आदिवासी जनजातिका सवालमा अनुभव आदान–प्रदान गर्ने, बहस तथा संवादमार्फत साझा निष्कर्ष निकाल्ने अवसर पाउने आयोजकको विश्वास छ।
प्रतिष्ठानले विगत २५ वर्षदेखि आदिवासी जनजातिको पहिचान, अधिकार, सशक्तीकरण, क्षमता विकास तथा समावेशी राज्य निर्माणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै रजत जयन्तीले संस्थाको भूमिका थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै, सम्मेलनबाट निस्कने सुझाव र निष्कर्ष आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोगी हुने अपेक्षा गरिएको छ।