सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पार्टी परित्याग गरी बुवा हिँडे छोराको चुनावी प्रचारमा

२०८२ माघ १७, ०२:३२ खबर संवाददाता

खलङ्गा: दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिका–९ दत्तु काँटैका नेपाली काँग्रेसका नेता चन्द्रसिंह सामन्तले पार्टी परित्याग गरेर छोराको चुनावी प्रचार गर्न थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेशसिंह सामन्तका बुवा चन्द्रसिंहले काँग्रेस छोडेर छोराको प्रचारमा हिँडेका हुन्। बुवा-छोरा यसअघि फरक–फरक राजनीतिक दलमा आबद्ध भए पनि उनीहरू अहिले गाउँ–गाउँमा सँगै पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारप्रसार गरिरहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै  काँग्रेस छाडेर छोराको प्रचार अभियानमा लागेको चन्द्रसिंह समान्तले बताए।

रास्वपा दार्चुलाले माघ १२ गते मालिकार्जुन गाउँपालिकामा रहेको राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्दिरमा पूजाआजा गर्दै चुनावी अभियान सुरु गरेको रास्वपा दार्चुलाका संयोजक तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेशसिंह सामन्तले जानकारी दिए। उनले बुवा चन्द्रसिंह सामन्तलाई साथमै राखेर चुनावी अभियानको सुरुवात गरेका हुन्।

यसअघि गत मङ्सिर २५ गते नेपाली काँग्रेस दार्चुलाले चन्द्रसिंह सामन्तलाई राष्ट्रिय सभाको पुरुषतर्फ उम्मेदवार सिफारिस गरेको थियो। तर परिस्थिति फेरिएकाले छोरालाई नै सहयोग गर्ने निष्कर्षमा पुगको चन्द्रसिंह सामन्तले बताए।

चन्द्रसिंह सामन्तका तीन छोरामध्ये माइला छोरा ५२ वर्षीय राजेशसिंह सामन्त रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका हुन्। विगतमा बुवा-छोरा फरक दलमा भए पनि प्रचारप्रसारका क्रममा सँगै हिँडिरहेको राजेशसिंह सामन्तले बताए। उनका अनुसार  बुवाछोरा अहिले एउटै पार्टीमा छन्। उनले आफ्नो बुवाले काँग्रेस छोडेको बताएका छन्।

दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणदत्त जोशी, राप्रपाका राजेश चन्द, जनमोर्चाका बिर्खराज पन्त, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल, नेकपा संयुक्तका विद्यादेव जोशी, नेपाली कम्युनिस्ट पार्टीका नवराज भट्ट, आमजनता पार्टीका प्रेमसिंह बडाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि तथ्यमा फरक परेकाले समाचार सच्याइएको छः-सम्पादक

 


 

कमेन्ट लोड गर्नुस