सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बुवाछोरा फरक-फरक दलको चुनावी प्रचारमा

२०८२ माघ १७, ०२:३२ खबर संवाददाता

खलङ्गा: दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिका–९ दत्तु काँटैका नेपाली कांग्रेसका नेता चन्द्रसिंह सामन्त र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेशसिंह सामन्त नाताले बुवाछोरा हुन्। फरक–फरक राजनीतिक दलमा आबद्ध भए पनि उनीहरू अहिले गाउँ–गाउँमा सँगै पुगेर आ–आफ्नो पार्टीको प्रचारप्रसार गरिरहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बुवाछोराले आफ्ना–आफ्ना पार्टीका एजेन्डा लिएर मतदाता भेटघाट तथा प्रचार अभियान सञ्चालन गरिरहेका छन्।

रास्वपा दार्चुलाले माघ १२ गते मालिकार्जुन गाउँपालिकामा रहेको राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्दिरमा पूजाआजा गर्दै चुनावी अभियान सुरु गरेको रास्वपा दार्चुलाका संयोजक तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेशसिंह सामन्तले जानकारी दिए। उनले बुवा चन्द्रसिंह सामन्तलाई साथमै राखेर चुनावी अभियानको सुरुवात गरेका हुन्।

यसअघि गत मङ्सिर २५ गते नेपाली कांग्रेस दार्चुलाले चन्द्रसिंह सामन्तलाई राष्ट्रिय सभाको पुरुषतर्फ उम्मेदवार सिफारिस गरेको थियो।

चन्द्रसिंह सामन्तका तीन छोरामध्ये माइला छोरा ५२ वर्षीय राजेशसिंह सामन्त रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका हुन्। घरभित्र फरक दल भए पनि प्रचारप्रसारका क्रममा सँगै हिँडिरहेको राजेशसिंह सामन्तले बताए। उनका अनुसार राजनीतिक दल फरक भए पनि प्रचारका क्रममा बुवाछोरा सँगै हिँड्ने गरेका छन्, जहाँ बुवाले कांग्रेसको प्रचार गर्छन् भने उनले रास्वपाको एजेन्डा राख्छन्।

यता कांग्रेस नेता चन्द्रसिंह सामन्तले राजनीतिक आस्था फरक भए पनि छोरासँगै चुनावी अभियानमा सहभागी भइरहेको बताए। उनले आफ्नो पार्टीले गरेका विकासका काम र भावी योजनाबारे प्रचार गरिरहेको र छोराले पनि आफ्ना पार्टीका कार्यक्रमबारे मतदातालाई जानकारी दिइरहेको उल्लेख गरे।

दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणदत्त जोशी, राप्रपाका राजेश चन्द, जनमोर्चाका बिर्खराज पन्त, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल, नेकपा संयुक्तका विद्यादेव जोशी, नेपाली कम्युनिस्ट पार्टीका नवराज भट्ट, आमजनता पार्टीका प्रेमसिंह बडाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।


 

कमेन्ट लोड गर्नुस