सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले गरे घरदैलो सुरु

२०८२ माघ १६, ०५:३७ खबर संवाददाता

धनगढी: सहिद दिवसको अवसरमा सहिदको फोटोमा माल्यार्पण गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले घरदैलो सुरु गरेका छन् ।

शुक्रबार कैलाली क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले धनगढी सहिद गेटस्थित सहिदको फोटोमा माल्यार्पण गरी घरदैलो अभियान सुरु गरेका हुन् । स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा उम्मेदवार शाहले सहिदलाई साक्षी राख्दै क्षेत्रको विकासका लागि प्रतिबद्धतासहित जनताको घरदैलोमा भोट माग्न सुरु गरे ।

उनले सहिदका सपना पूरा गर्न र कैलाली क्षेत्र नम्बर ५ का जनताका माग पूरा गर्न आफ्नो उम्मेदवारी रहेकाले आजको पवित्र दिनबाट घरदैलो सुरु गरिएको बताए । आज उनले सहिद गेटबाट सुरु गरी बजारका विभिन्न क्षेत्रमा घरदैलो गरिने बताए ।

अन्य उम्मेदवारहरूले भेटघाट तथा छलफल गरे पनि घरदैलो सुरु गरेका छैनन् । यस अघि कैलाली क्षेत्र नम्बर ५ का २१ वटै वडामा शाहले आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्दै चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा संगठन विस्तार, मतदाता भेटघाट र पार्टी गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यसहित उनले वडास्तरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् । सम्पर्क कार्यालय स्थापनासँगै उम्मेदवार शाहले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई पनि निरन्तरता दिइरहेका छन् । 

कमेन्ट लोड गर्नुस