सुदूर नेपाललाई विश्वसँग जोड्दै

लालपुर्जा सुनिश्चित गर्ने उम्मेदवारलाई मात्रै भोट दिने बड्डीज्यावनवासी

२०८२ माघ १६, ०५:१७ खबर संवाददाता

बझाङ: बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र मतदान गर्ने निर्णय गरेको बताएका छन्।

पुस्तौंदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा तथा सुविधा पाउन नसकिएको भन्दै स्थानीयवासीले निर्वाचनका बेला भोट माग्न आउने उम्मेदवारहरूसँग लालपुर्जा सुनिश्चित गर्न माग राखेका हुन्।

स्थानीय हर्कबहादुर बोहराका अनुसार आफूहरू सात पुस्तादेखि सोही स्थानमा बसोवास गर्दै आए पनि हालसम्म कसैको नाममा लालपुर्जा प्राप्त हुन सकेको छैन। न त आफूहरू भूमिहीनको सूचीमा समावेश हुन सकेका छन्, न त जग्गाधनीको अधिकार पाएका नै छन्। पटक–पटक सरकारी कार्यालय धाउँदा पनि समस्या समाधान नभएको भन्दै अब आश्वासन मात्र स्वीकार्य नहुने बोहराले जानकारी दिएका छन्। जसले लालपुर्जा उपलब्ध गराउँछ, उसैलाई मतदान गर्ने निर्णय गरिएको उनले बताएका छन्।

लालपुर्जा नहुँदा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आबद्ध हुन, कृषि तथा पशुपालन अनुदान प्राप्त गर्न तथा अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको स्थानीयवासीले बताएका छन्। विशेषगरी स्वरोजगार तथा व्यवसाय गर्न चाहने युवाहरू जग्गाको कानुनी स्वामित्व नहुँदा अवसरबाट वञ्चित हुँदै आएको उनीहरूको भनाइ छ।

यस पटकको प्रतिनिधि सभा निर्वाचनमा लालपुर्जाको विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाइएको स्थानीय शङ्कर बोहराले जानकारी दिए। नाराभन्दा काम महत्वपूर्ण भएकाले लालपुर्जा सुनिश्चित गर्ने स्पष्ट योजना र प्रतिबद्धता प्रस्तुत गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने सामूहिक निर्णय गरिएको उनले बताएका छन्।

सरकारले विभिन्न समयमा भूमिहीन दलित तथा सुकुम्वासी समस्या समाधानका लागि आयोग गठन गरे पनि अपेक्षित रूपमा काम हुन नसकेको स्थानीयहरूको गुनासो छ। २०७६ चैत ९ गते तत्कालीन सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग सरकार परिवर्तनसँगै खारेज गरिएको थियो। पछि अदालतको आदेशपछि आयोग पुनःस्थापना भई काम अगाडि बढाएको भूमिसम्बन्धी समस्या समाधान आयोग बझाङका जिल्ला अध्यक्ष प्रयागराज जोशीले जानकारी दिएका छन्।

यस विषयमा नेकपा एमालेका उम्मेदवार ऐन महरले लालपुर्जाको समस्या समाधानलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बड्डीज्यावनका स्थानीयवासी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाइने उनले बताएका छन्। अन्य उम्मेदवारहरूले पनि उक्त क्षेत्रको समस्या बुझेर आवश्यक सहयोग गर्ने बताएका छन्।

बुङ्गल नगरपालिका–६, बड्डीज्यावन क्षेत्रमा करिब १५० भन्दा बढी मतदाता रहेका छन्। स्थानीयवासीहरू लामो समयदेखि गुठीको जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्व नहुँदा विभिन्न सरकारी सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस