सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ६ वडामा रकम संकलन गरेको सात बर्ष सम्म बिजुली बलेन

२०७६ साउन ३१, ०७:०० कमल सावद

रकम संकलन गरेर बुझाएको सात बर्ष सम्म पनि कैलालीका तीन स्थानीय तहका केही बासिन्दाले बिजुली बाल्न पाएका छैनन्। जिल्लाको घोडाघोडी नगरपालिकाका ४ वटा वडा, गौरीगंगा नगरपालिकाको एउटा र कैलारी गाउँपालिकाको एउटा वडाका वासिन्दाले रकम संकलन गरेर बुझाएको सात बर्ष सम्म पनि बिजुली बाल्न नपाएका हुन्।

विजुली बल्ने सपना देखाउँदै २०६९ सालमा घोडाघोडी विद्युत सहकारीले स्थानीयबाट रकम संकलन गरेको थियो। तर अहिले सम्म विद्युतीकरणको कार्य समेत सकिएको छैन्। विद्युतीकरणमा भएको ढिलाईका कारण घोडाघोडी नगरपालिकाका वडा नम्बर  ४, ५, ७ र ९ गौरीगंगा नगरपालिकाको ११ नम्बर वडा र कैलारी गाउँपालिकाको ८ नम्बर वडाका वासिन्दाहरु अझै अन्धकारमा छन्। 

गत माघ २७ गते सुख्खडमा कार्यालय रहेको घोडाघोडी विद्युत सहकारीले रकम संकलन गरेर पनि विद्युतीकरणको काम पूर्ण नगरेको भन्दै स्थानीयले कार्यालय घेराउ गर्दै तालाबन्दी पनि गरे। विद्युत सहकारी र स्थानीय बिच चैत्र महिना भित्र सबै क्षेत्रमा विद्युत सुचारु गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भए।

विद्युत विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले पनि केही क्षेत्रमा काम सुचारु गरेको थियो। तर केही दिन मात्र काम गरेर अहिले काम पूर्ण रुपमा बन्द रहेको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलीयाका स्थानीय केशब बोहराले बताए। ‘२०६९ सालमा प्रति परिवार एक हजार पाँच सय रुपैयाँका दरले रकम उठाईएको थियो,’ उनले भने, ‘रकम उठाएको सात बर्ष सम्म पनि बिजुली बल्ने कुनै छाटकाट देखिएको छैन्।’ 

‘गौरीगंगा नगरपालिका वडा नम्बर ८ का स्थानीय प्रेम चौधरीले पनि सात बर्ष सम्म तार विस्तरको कार्य पनि सम्पन्न नभएको बताए।’ ‘बिजुली बाल्ने सपना देखाएरपछि रकम उठाएका हौँ, उनले भने, सात बर्ष सम्म बिजुली नबल्दा गर्मी मौसमा ठुलो सास्ती बेहोर्न परेको छ।’

स्थानीय जनप्रतिनिधि, घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्थाका प्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरु पटक–पटक विद्युत छिट्टै बाल्ने सहमती गर्दै आएका छन्।  २०७५ साल असार मसान्तभित्र विद्युतीकरण गरिसक्ने लिखित सम्झौता समेत गरिएको थियो। तर त्यो अहिले सम्म कार्यान्वयन भएको छैन्।

लिखित र मौखिक सम्झौता कार्यान्वयन नगरेको विद्युत सहकारी र विद्युत निर्माण कम्पनीले अझै काम ठप पारेपछि स्थानीय हैरान भएका छन्। तर घोडाघोडी विद्युत सहकारी संस्थाका अध्यक्ष भिम बडुवालले भने निर्माण कम्पनीसंग विद्युत प्राधिकरणले सम्झौता गरेकोले प्राधिकरणले नै जिम्मा लिनुपर्ने बताए। 

२०६९ सालमा रकम संकलन गरेपछि घोडाघोडी विद्युत सहकारी संस्था कैलालीको सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत सामुदायिक ग्रामिण विद्युतीकरण विभाग र जनमुखी कन्ट्रक्सन कम्पनी प्रालि विच २०७१ फागुन २७ गते  १८ महिना भित्र विद्युतीकरण गर्ने गरी सम्झौता भएको थियो।

ठेक्का सम्झौता भएको पाँच वर्ष भएको छ तर काम पूर्ण भएको छैन्। अहिले तेश्रो पटक निर्माण अवधी थप्ने तयारी भईरहेको निर्माण कम्पनीका सञ्चाक राधेश्याम विष्टले बताए। माघ मसान्त सम्म बिजुली बल्ने गरि तयारी भईरहेको उनले बताए। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस