सिफल उकालोमा धर्मभक्त माथेमाको स्मृतिसभा
काठमाडौँः सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ।
सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो।
सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विगतको शासनमा नागरिकले भोग्नु परेका क्रूरता, असमानता तथा कुण्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको सङ्घर्ष र बलिदानी स्मरण गर्न कार्यक्रम आयोजना गरिएको बताए।
माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्दै डङ्गोलले भनिन्, 'माथेमामा राजनीतिक चेतना थियो, उनी शारीरिक सुगठन (व्यायाम) का प्रवद्र्धक थिए। राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध सङ्घर्ष गर्ने उनको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो। स्मरण गर्नुपर्ने इतिहास हो। शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उनलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो। त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार भए। उनको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ।'
सभामा काठमाडौँ महानगर–७ का अध्यक्ष बिमल होडाले असलशासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने बताए। अधिकार प्राप्तिको इतिहास जोगाइराख्न माथेमाले सहादत प्राप्त गरेको स्थानको संरक्षणका लागि गुरुयोजना बनाएर काम थालिएको उनको भनाइ थियो।
नवपुस्तालाई सहिदहरुको आदर्श बुझाउन पाठ्यपुस्तकमा विषय राखेर अध्ययन गराउनुपर्छ। सभामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमाले भने, 'आदर्श बुझाउन सकिएन भने मानव अधिकार र नागरिक स्वतन्त्रता पटक पटक सङ्कटमा पर्छ।'
विसं १९६६ असोज ९ गते काठमाडौँको ओमबहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शासकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ साल कात्तिक २ गते पक्राउ गरिएको थियो। विसं १९९७ माघ १३ गते धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो।
काठमाडौँको सिफलमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विसं १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए। निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी उनीहरुलाई मृत्युदण्ड दिइएको थियो।