कैलाली र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच शैक्षिक तथा अनुसन्धान सहकार्य सम्झौता
धनगढी: सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस र अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच शैक्षिक तथा अनुसन्धानात्मक सहकार्यका लागि सम्झौता भएको छ।
दुवै क्याम्पसका अनुसन्धान व्यवस्थापन केन्द्र (रिसर्च म्यानेजमेन्ट सेल) बीच भएको उक्त सम्झौतापत्रमा कैलाली बहुमुखी क्याम्पसका रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख तथा सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. मोहन सिंह साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख सहप्राध्यापक हरिकृष्ण कडायतले हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर समारोहमा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर बिष्ट तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार दुवै क्याम्पसबीच अनुसन्धानमूलक गतिविधि सञ्चालन, विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान, सेमिनार, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनलगायतका क्षेत्रमा सहकार्य गरिनेछ।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले यस सहकार्यले दुवै क्याम्पसका विद्यार्थी तथा प्राध्यापकको शैक्षिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै शैक्षिक गुणस्तर र अनुसन्धानको प्रभावकारिता बढाउन यस्ता गतिविधि निरन्तर गरिने बताए।
उक्त सम्झौताले दुवै क्याम्पसबीच शैक्षिक तथा अनुसन्धानात्मक सम्बन्धलाई थप प्रगाढ बनाउने र अनुसन्धानका कार्यहरूलाई व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। सम्झौता दुई वर्षका लागि गरिएको हो र आवश्यकताअनुसार त्यसपछि नवीकरण गरिने जनाइएको छ।