सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसो छल्न बेँसी झरेका बाजुराका मतदाता निर्वाचनमा मतदान गर्न नपाउने

२०८२ माघ १२, ०४:५१ खबर संवाददाता

बाजुराः चिसो छल्न बेँसी झरेका यहाँका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने भएको छन् ।

आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरुले मतदान गर्न नपाउने देखिएको छ । आदिवासी जनजाती महासङ्घ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) ले गत मङ्सिरबाट नै चिसो छल्न भेडापाठासहित बेँसीमा झरेका हुँदा उनीहरुलाई मतदानमा सहभागी हुन नपाउने बताए । उनका अनुसार त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन् ।

यहाँका बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिका–१, २, ३, ७, ८ र ९ र हिमाली गाउँपालिका– २ र ३ वडामा बसोबास गर्दै आएको छन् । आसन्न निर्वाचनमा मतदान गर्न नसकिने अस्थायी बसाइँ सरेर डोटीको सानागाउँ पुगेका जगत थापा (भोटे) ले बताए । उनले भने, ‘मसहित परिवार यतै छौंं, चारै जना मौसमी बसाइँ सरेको छौँ,’ उनले भने, ‘मतदान गर्न गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्छ ।’

प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले ती मतदातालाई मतदान गर्न गाउँ आउन प्रेरित गर्ने बताए । यहाँ ७७ मतदानस्थल कायम भएका छन् । ती मतदानस्थलका एक सय १८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए । उक्त निर्वाचनका लागि ८७ हजार आठ सय ६१ मतदाता छन् । तीमध्ये महिला ४१ हजार ६१८ र पुरुष ४६ हजार २४३ छन् ।

कमेन्ट लोड गर्नुस