कञ्चनपुरमा कुष्ठरोगीलाई औषधी तथा सहयोग सामग्री हस्तान्तरण
कञ्चनपुरः कञ्चनपुरमा ७३ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आईतबार कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई सहयोग सामग्री हस्तान्तरण गरिएको छ।
जिल्लाको कुष्ठरोग प्रभावित क्षेत्र बेदकोट नगरपालिका–५ धर्मपुरमा “कुष्ठरोगको छ ओखती, सामाजिक लान्छाना र विभेद मुख्य चुनौँती” भन्ने नारासाथ ७३ औं विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
यस अवसरमा कृष्ठरोगीका बिरामीहरूलाई घाउमा प्रयोगका सामग्री तथा औषधी हस्तान्तरण गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र धरपुरको आयोजना तथा स्वास्थ्य कार्यालयको समन्वयमा कुष्ठरोग दिवस मनाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए।
विगतमा बेदकोटको धर्मपुर कुष्ठरोग प्रभावित क्षेत्र रहे पनि हाल यस क्षेत्रमा कृष्ठरोगी न्यून रहेको उनले बताए। दिवसको अवसरमा कुष्ठरोगबाट प्रभावित बिरामीलाई बेदकोट वडा ५ का अध्यक्ष चित्रदेव भट्टले घाउमा लगाउने मलमपट्टी लगायत घरायसी प्रयोजनका सामग्री जग, बाल्टीसहित औषधी उपचार तथा विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको उनले बताए।
कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म ९ जना कुष्ठरोगी उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये चालु आर्थिक वर्षमा कुष्ठरोग फेला परेका बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाका २–२ जना र भीमदत्त नगरपालिकाको १ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताएका छन्।