सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ६८ प्रतिशत कुष्ठरोगका बिरामी कैलालीमा

२०८२ माघ ११, १२:३४ नारायण अवस्थी

धनगढी: नेपाल सरकारले २०६६ साल माघ ५ गते कुष्ठरोग निवारण भएको घोषणा गरे पनि सुदूरपश्चिम प्रदेशमा यसको भार अझै चिन्ताजनक देखिएको छ। प्रदेशका विभिन्न जिल्लामध्ये कैलाली कुष्ठरोगको उच्च प्रकोप दर भएका जिल्लामा पर्छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिम प्रदेशमा कुल १७३ जना कुष्ठरोगी पहिचान भएका छन्। तीमध्ये करिब ६८ प्रतिशत अर्थात् सबैभन्दा ठूलो भार कैलाली जिल्लामा रहेको छ। कैलाली नेपालका ७७ जिल्लामध्ये कुष्ठरोगको प्रकोपदर उच्च रहेका १६ जिल्लामध्ये एक हो।

पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा १४९ जना, २०८०/८१ मा १५८ जना र २०८१/८२ मा ११७ जनामा कुष्ठरोग देखिएको छ। पछिल्लो वर्ष कैलाली जिल्लामा मात्रै ११७ जना कुष्ठरोगी पहिचान भएका छन्।

कैलालीभित्र सबैभन्दा बढी धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका र लम्किचुहा नगरपालिकामा कुष्ठरोगी भेटिएका छन्। पहिचान भएका ११७ जनामध्ये ४६ जना महिला, ४ जना बालबालिका रहेका छन् भने ९ जनामा बाह्य रूपमा देखिने अपाङ्गता देखिएको स्वास्थ कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए।

उनका अनुसार बालबालिकामा कुष्ठरोग देखिनु स्थानीय स्तरमै संक्रमण फैलिरहेको संकेत हो। यसले रोगको पहिचान, उपचार र जनचेतनामा अझै प्रभावकारी कार्यक्रम आवश्यक रहेको कुँवरले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस