कैलाली-५ का चार मुख्य प्रतिस्पर्धी, को कस्ता?
धनगढीः कैलाली-५ मा नेपाली काँग्रेसबाट नरनारायण शाह, नेकपा एमालेबाट यज्ञराज ढुङ्गाना उपाध्याय, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेमबहादुर आले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर आनन्दबहादुर चन्द उम्मेदवार छन्।
कैलाली-५ मै राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही, नेकपा माओवादीका बबरजंग बहादुर सिंह, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद चुनावी मैदानमा छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टीका जगन्नाथ चौधरी, नेपाल मजदुर किसान पार्टीका तृष्णा पुन मगर, आम जनता पार्टीका देवसिंह विष्ट, जनमत पार्टीका धनबहादुर चौधरी, मितेरी पार्टीका राधिकाकुमारी कार्की , राष्ट्रिय जनमोर्चाका शोभामणी जोशी तथा स्वतन्त्र उम्मेदवार प्यारेलाल राना र इश्वरी विष्ट पनि चुनावी प्रतिस्पर्धामा छन्।
काँग्रेसका शाह पहिलो पटक मत माग्दै
कैलाली–५ मा काँग्रेसका उम्मेदवार नरनारायण शाह (मनु) पार्टी राजनीति, खेलकुद र समाजसेवामा स्थापित नेता हुन्।
लामो समयदेखि सामाजिक रुपान्तरण र पार्टी संगठन निर्माणमा सक्रिय शाह मिलनसार व्यक्तिका रूपमा चिनिन्छन्। पार्टीको आन्तरिक राजनीतिमा सन्तुलन कायम गर्न सक्ने नेताका रुपमा चिनिएका शाहले पार्टी दुई स्पष्ट धारमा विभिक्त भएको बेला प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन्। उनले अहिलेसम्म कायम गर्न सकेको सन्तुलन यो पटक कायम गर्न सक्छन् या सक्दैनन् भन्ने कुरा फागुन २१ को निर्वाचन परिणामपछि मात्रै थाहा हुनेछ।
स्नातक तहसम्म औपचारिक अध्ययन गरेका शाहको राजनीतिक यात्रामा नेपाल विद्यार्थी संघबाट सुरू भएको हो। शाह नेपाली काँग्रेसको प्रदेश महामन्त्रीसम्म पुगेका अनुभवी नेता हुन्। उनी नेपाली काँग्रेस कैलालीका पूर्व जिल्ला सहसचिव तथा जिल्ला सभापति रहिसकेका छन् भने नेपाल तरुण दल कैलालीको जिल्ला अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
शाह टेबल टेनिस तथा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी हुन्। साथै नेपाल सितोरियो कराँते महासंघ कैलालीका पूर्व अध्यक्ष, जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्यका रूपमा उनले जिल्लाको खेलकुद विकासमा समेत भूमिका खेलेको दाबी गरेका छन्।
व्यावसायिक क्षेत्रमा ओम प्यालेस, धनगढी सञ्चालन गर्दै आएका कैलाली–५ बाट उम्मेदवार बनेका शाहले विकास, रोजगारी सिर्जना, खेलकुद प्रवर्द्धन, गुणस्तरीय शिक्षा र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। 'राजनीति सेवा हो, शक्ति होइन' भन्ने मान्यताका साथ जनतासँग नजिक रहेर इमानदार नेतृत्व प्रदान गर्ने प्रतिबद्धता उनको रहेको छ।
शाह पार्टी राजनीतिमा अहिलेसम्म सफल मानिन्छन्, तर मतदाता माझ भने पहिलो पटक जाँदै छन्। लामो प्रतिक्षापछि पार्टीको छनोटमा परेका शाहलाई कैलालीका मतदाताले पनि अनुमोदन गर्नेमा काँग्रेसका नेताहरू ढुक्क छन्।
शाहले युवाहरूलाई लक्षित गरेर सरकारले नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। विगतबाट पाठ सिक्दै इमानदार भएर काम गर्न आफूलाई जिताउनुपर्ने शाहले बताएका छन्।
विद्यार्थी राजनीतिबाट उदाएका ढुङ्गाना
नेकपा एमालेले कैलाली-५ बाट उम्मेदवार बनाएका यज्ञराज ढुङ्गाना उपाध्याय विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। २०६२ मा कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति चुनिएपछि उनको राजनीतिक उचाइ निरन्तर बढेको नेकपा एमाले कैलाली जिल्ला सहसचिव चुडामणि भट्टले बताए।
कैलाली बहुमुखी क्याम्पसमा नेविसंघको बर्चस्व रहँदासमेत ढुङ्गानाले स्ववियु सभापति जितेको भट्ट बताउँछन्। त्यसपछि अनेरास्ववियुको जिल्ला अध्यक्ष हुँदै सुदूरपश्चिमाञ्चल प्रमुखसमेत भएका ढुङ्गाना २०६४-६५ सम्म एमालेको कैलाली जिल्ला कमिटीका सदस्य भएका थिए। त्यसपछि प्रदेश कमिटी सदस्य हुँदै उनी २०८० फागुनमा भएको एमाले जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका हुन्।
पार्टी संस्थापनसँग राम्रो सम्बन्ध भएको मानिने ढुङ्गाना धनगढीको नवजीवन अस्पतालका अध्यक्षसमेत हुन्। युवा तथा स्नातकसम्म अध्ययन गरेका र हाल स्नातकोत्तर पढ्दै गरेका ढुङ्गाना पार्टी राजनीतिमा निरन्तर सफलता हात पार्ने थोरै नेताभित्र पर्छन्। यो पटक भने ढुङ्गाना पहिलो चोटी प्रतिनिधि सभाको प्रत्यासी बनेर मैदानमा उत्रिएका छन्। उनलाई कैलाली-५ का मतदाताको साथ रहने नेकपा एमालेका नेताहरुको भनाइ छ।
एमालेका उम्मेदवार ढुङ्गानाले राजनीतिक स्थायीत्व विकास र सुशासनका लागि एमालेलाई भोट दिन आग्रह गरेका छन्। उनले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका लागि काम गर्ने बताएका छन्।
डोटीबाट ह्याट्रिक गरेका आले पहिलो पटक कैलालीमा
डोटीबाट लगातार तीन पटक चुनाव जितेका प्रेमबहादुर आले यो पटक कैलाली-५ बाट चुनाव लड्दै छन्। दुई पटक नेपाल सरकारको मन्त्रीसमेत बनिसकेका आले डोटीबाट संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा, २०७४ र २०७९ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। २०६४ मा समेत डोटी-२ बाट एमालेबाट चुनाव लडेका आले माओवादी उम्मेदवारसँग पराजित भएका थिए। त्यसपछिका तीन निर्वाचनमा फराकिलो जित हासिल गरेका आले यो पटक भने नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बनेर कैलाली-५ मा आएका हुन्।
भारतको मुम्बईबाट कक्षा एकदेखि प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका आलेसँग जिल्ला विकास समिति हुँदै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका नेता हुन्। २०७७ साल पुसमा वन मन्त्री बनेका आले २०७८ असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका हुन्।
निर्माण व्यवसाय, काठ व्यवसाय र घरजग्गा व्यवसायसँगै कलेज सञ्चालनमा समेत काम गरेका आले विकास र भ्रष्टाचारको मुद्दा सुनिने गरी उठाउने नेताको रुपमा परिचित रहेको नेकपाका केन्द्रीय सदस्यसमेत रहेका हेमन्त रेग्मी बताउँछन्। 'सुदूरपश्चिमका विभिन्न विकासका मुद्दा संसदमा उठाउने हैसियत भएका नेताका रूपमा प्रेम आलेको पहिचान बनेको छ। उहाँले ठुला-ठुला भ्रष्टाचारका मुद्दा उजागर गर्नु भएको छ,' उनले भने, 'एनलेस, पोखरा र भैरहवा विमानस्थल घोटालाको आवाज उठाउने व्यक्ति पनि आले हुन्, विकासका मुद्दा उठाउने नेता पनि आले नै हुन्।'
डोटीमा एक हार र त्यपछि लगातार तीन जित निकालेका आले यो पटक भने कैलाली-५ मा परीक्षण हुन आएका छन्। उनलाई यहाँका मतदाताले हार्दिक रुपमा स्वीकार्ने उनको पार्टीको दाबी छ। आलेले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, उर्जा र पर्यटन विकासका योजना अगाडि बढाउन आफूले काम गर्ने बताएका छन्।
रास्वपाबाट जनस्वास्थ्य अभियनकर्ता चन्द मैदानमा
कैलाली- मा राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियनकर्ता हुन्। चन्दले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापक भएर काम गरेका चन्द बालेन शाहसँग व्यक्तिगत सम्बन्ध भएका नेता हुन्।
जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा विद्यावारिधी गरेका छन्। अध्ययन तथा अनुसन्धानमा सक्रिय व्यक्ति हुन् उनका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलहरूमा समेत प्रकाशित छन्।
चन्द नेपालको सुर्तिजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियनकर्ता हुन्।
सूर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूम्रपान निषेध कानुन, सुर्तीजन्य पदार्थको विज्ञापन नियन्त्रणजस्ता नीतिमा सरकारलाई दबाब साथै सघाउने कार्य गर्दै आएका चन्दले कैलाली-५ मा घरदैलो सुरू गरिसकेका छन्। यो क्षेत्रले पहिलो पटक विज्ञ उम्मेदवार पाएकाले मतदाताको रोजाइमा चन्द नै पर्ने रास्वपा समर्थक धर्मराज जोशी बताउँछन्। व्यक्ति पनि नयाँ, पार्टी पनि नयाँ भएकाले परिवर्तन चाहने मतदाताले रास्वपालाई मत दिनुपर्ने दाबी जोशीको छ।
चन्दले बदलिँदो राजनीतिक परिवेश र जेन्जी आन्दोलनको म्याण्डेडअनुसार जिम्मेवारी बहन गर्न उम्मेदवार बनेको बताएका छन्। चन्दले सुशासन कायम गर्दै राज्यको समान रूपले डिलेभरी दिन सक्ने क्षमता विकास गर्न रास्वपासँग भिजन भएकाले आफूलाई भोट गर्न आग्रह गरेका छन्।
कैलाली-५ मा उम्मेदवार बनेका अन्य नेताहरूले पनि विकास निर्माण र जनजिविकाका सवालहरूलाई चुनावी मुद्दा बनाएका छन्। उनीहरूले मतदाताले ठूला भनिका दलको बहकावमा नलाग्न आग्रह गरेका छन्।