कैलाली-५ मा १५ उम्मेदवार चुनावी दौडमा
धनगढी: फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली-५ मा १५ जनाको उम्मेदवारी कायम भएको छ। माघ ६ गते १६ जनाले मनोनयन दर्ता गरेकोमा स्वतन्त्र उम्मेदवारी दिएका जनकराज पाठले उम्मेदवारी फिर्ता लिएपछि चुनावी मैदानमा १५ जना मात्रै बाँकी रहेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले सार्वजनिक गरेको सूचनाअनुसार कैलाली-५ मा काँग्रेसका नरनारायण शाह, नेकपा एमालेका यज्ञराज ढुङ्गाना उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही, नेकपा माओवादीका बबरजंग बहादुर सिंह, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद चुनावी मैदानमा रहेका छन्।
यस्तै, नागरिक उन्मुक्ति पार्टीका जगन्नाथ चौधरी, नेपाल मजदुर किसान पार्टीका तृष्णा पुन मगर, आम जनता पार्टीका देवसिंह विष्ट, जनमत पार्टीका धनबहादुर चौधरी, मितेरी पार्टीका राधिकाकुमारी कार्की , राष्ट्रिय जनमोर्चाका शोभामणी जोशी तथा स्वतन्त्र उम्मेदवार प्यारेलाल राना र इश्वरी विष्टको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उम्मेदवारी कायम भएसँगै कैलाली-५ मा १५ जना उम्मेदवारले चुनावी दौड तय गरेका छन्। उनीहरू चुनावी घोषणापत्र निर्माणसँगै भोट माग्न घरदैलो गर्न थालेका छन्।