सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा अघिल्लो वर्षकै ग्रावेल देखाएर ३५ लाख खर्च गरेको आरोप

२०७६ साउन ३०, ११:४३ कमल सावद

कैलालीको गौरीगंगा नगपालिका वडा नम्बर ७ को कार्यालयले गत आर्थिक वर्ष २०७५-०७६ मा सडक ग्रावेलको ३० लाख र मर्मत सम्भारको पाँच लाख गरी ३५ लाख बजेट पाएको थियो।  ३५ लाखको काम नगरी नगरपालिकाबाट भुक्तानी लिएको वडा कार्यालयले आर्थिक अनिमितता गरेको आरोप लागेको छ।

३५ लाख बजेटमा एक दशमलव आठ किलोमिटर सडक मात्र ग्रावेल गरिएको छ। सडक मर्मतका लागि विनियोजन भएको पाँच लाख रकमबाट एक ठाँउमा पनि सडक मर्मत नभएको वडा नम्बर ७ का स्थानीय मोहन साउँदले बताए। उनले भने, ‘वडा कार्यालयलाई ३० लाख सडक ग्रावेल र पाँच लाख मर्मतका लागि नगरपालिकाबाट गत आर्थिक वर्षमा आएको थियो तर सडक मर्मतको विषयमा उपभोक्ता समिति पनि जानकार छैनन्।

सडक ग्रावेलको ३० लाख बजेटमा पनि अनियमितता भएको छ।’  ग्रावेल गरिएको सडकमा पनि रोलर नलगाइएको उनले बताए। वडा कार्यालयहरुले स्टीमेट अनुसार काम नगरी लाखौँ रकम भुक्तानी लिएकोे आरोप लागेको हो। नगरपालिकाको वडा नम्बर ७ को कार्यालयले अघिल्लो वर्ष नै ग्रावेल भएको सडकमा ३५ लाख खर्च गर्दै अनियमितता गरेको आरोप लागेको छ।

सडक मर्मत सम्भारको शिर्षकमा विनियोजन भएको पाँच लाख सहित ३५ लाखमा आर्थिक हिनामिनाको आरोप लागेको छ। ३५ लाखको ग्रावेलको योजनामा १२ लाख बढि रकम आर्थिक अनियमितता भएको  आशंका गरिएको छ। उपभोक्ता समितिमा निकटका व्यक्तिलाई राख्दै गत वर्षकै ग्रावेल देखाएर रकम कुम्ल्याईएको आरोप लागेको हो।

३० लाख सडक ग्रावेलको उपभोक्ता समितिको अध्यक्षमा खड्क बुचामगर र पाँच लाख सडक ममर्तको उपभोक्ता समितिको अध्यक्ष केशव साउँदलाई राखिएको थियो। तर उनीहरुले पनि कुन–कुन ठाउँमा सडक ग्रावेल र मर्मत गरियो भन्ने विषयमा जानकार छैनन्। उपभोक्ता समितिका अध्यक्ष केशव साउँदले सडक मर्मतको बारेमा पूर्ण जानकारी नभएको बताए।

वडा नम्बर ७ को मट्कौना, कैलाशपुर र मौलियामा एक दशमलव ८ किलोमिटर सडक ग्रावेल गरिएको छ। गत  आर्थिक वर्ष २०७५-०७६ मा विनियोजन भएको ३५ लाखमा १२ लाख बढि आर्थिक अनियमितता भएको आरोप लागेको छ। यता वडा अध्यक्ष दलबहादुर कुमालले आर्थिक वर्ष २०७४-०७५ मा गरिएको ग्रावेल सडकको भुक्तानी दएको बताए।

उनले १२ किलोमिटर सडक ग्रावेलको स्टीमेट भएपनि धेरै भएकाले उधारो तिरेको बताए। धेरै ट्रयाक्टरको भाडा गत आर्थिक वर्ष २०७५-०७६ को ३५ लाख रकमबाट तिरेको उनले बताए। ‘आर्थिक वर्ष २०७४÷०७५ मा साढे ३८ लाख विनियोजन भएको थियो। उनले भने, साढे १२ किलोमिटर सडक ग्रावेलको इस्टिमेट थियो, साढे १७ किलोमिटर ग्रावेल गरियो तर  रकम तिर्न बाँकी हुँदा यो वर्ष तिरेका हौ।’ 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस