सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बालबालिकामा कुपोषणको दर बढ्यो!

२०८२ माघ ८, ०६:२१ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा तीन वर्षयता बाल कुपोषणको दर बढेको पाइएको छ। सन् २०२५ मा स्वास्थ्य निर्देशनालय डोटीले गरेको स्मार्ट प्लस अध्ययन अनुसार ६-५९ महिनाका बालबालिकामा शीघ्र कुपोषणको दर बढेको पाइएको हो।

अध्ययनले बालबालिकामा शीघ्र कुपोषणको दर १५ दशमलव ८ पुगेको पाइएको छ। अध्ययनले सुदूरपश्चिमका एक सय बालबालिका मध्ये  १६ जना बालबालिकामा उचाई अनुसारको तौल छैन। सन् २०२२ मा नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणमा यो दर ५ प्रतिशत रहेकोमा अहिले बढेर १५ दशमलव ८ पुगेको हो।

विश्व स्वास्थ्य संगठन/युनिसेफले शीघ्र कुपोषणको दर १५ वा सो भन्दा बढी हुनुलाई 'अति उच्च' को संकेत गर्छ। सुदूरपश्चिममा ६ महिनादेखि ५९ महिनासम्मको उमेर समूहमा एक सयमा २५ जना बालबालिकाको उमेर अनुसारको तौल नै छैन। सन् २०२२ मा यो नतिजा एक सयमा १४ जनामा सिमित थियो।

पोषणका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशमा यस्तो अवस्था आउनु जनस्वास्थ्य आपतकालको संकेत देखिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताएका छन्। उनले  पोषणको क्षेत्रमा कार्यरत स्वास्थ्य र गैरस्वास्थ्य क्षेत्रको योगदान के रहयो?  भनेर प्रश्न गरेका छन्। उनले अगाडि भनेका छन्, 'सरकारी तथा गैरसरकारी लगानीको प्रतिफल के भयो? कतै सतही उद्देश्यमा मात्रै अलमलिएका त छैनौँ? मूल समस्याबाट विकेन्द्रित भयौँ कि ? वा, केही/कुनै नयाँ कारक तत्वको प्रभाव बढ्यो?'

सुदूरपश्चिममा बालबालिकामा कुपोषणको समस्या विकराल रुपले फैलिएको तथ्याङ्कले देखाएको छ। प्रतिवेदनले बालबालिकामा उमेरअनुसारको शारीरिक विकास र वृद्धि नभएको देखाएको छ। बालबालिकामा कम तौल र कम उचाईको समस्या बढेको पाइएको छ।

किन बढ्यो शीघ्र कुपोषणको दर?
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई कुपोषण बढ्नुमा थुप्रै कारण रहेको बातएका छन्। उनले नेपाल सरकारले उपलब्ध गराएको बालभिटासमेत सबै बालबालिकाले उपभोग नगरेको अध्ययनले देखाएको बताएका छन्।

सरकारले भिटामिन र मिनरल्सको कमि हुन नदिन स्वास्थ्य स्वयंसेविका मार्फत बालभिटा वितरण गर्दै आएको छ तर ५५ प्रतिशत बालबालिकाले मात्रै बालभिटा नियमित खाने गरेको पाइएको छ। अध्ययनले ४१ प्रतिशत बालबालिकाको बालभिटा खाएको छैनन् भने ४ प्रतिशत बालबालिका पहुँच भन्दा बाहिर रहेको पाइएको छ।

३२ प्रतिशत आमाले पूर्ण स्तनपान गराउँदैनन्
अध्ययनले ६८ प्रतिशत आमाले मात्रै ६ महिनासम्म बालबालिकालाई स्तनपान गराउने देखाएको छ। ३२ प्रतिशत महिलाले पूर्णस्तनपान नगराउने गरेको पाइएको छ। बालबालिकाको राम्रो स्वास्थ्यका लागि आमाले ६ महिनासम्म स्तनपान गराउनुपर्नेमा त्यसो नगर्दा बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरले बताए।

आमाले पूर्णस्तनपान नगराउने तथा बालबालिकालाई गुलियो पेय पदार्थ खान दिने, चाउचाउ, बिस्कुट, कुरमुरे जस्ता पत्रुखाना दिने भएकाले कुपोषणको समस्या देखिएको कुँवरले बताए। यस्तै, ६ देखि २३ महिनाको बालबालिकाको खानामा तरकारी र फलफूल नियमित खुवाउनुपर्नेमा ३१ प्रतिशत बालबालिकाको खानामा तरकारी र फलफुल नहुने गरेकाले शीघ्र कुपोषणको समस्या बढेको अध्ययनले देखाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस