बाजुरामा पार्टीको प्रचार गरेको भन्दै तीन कर्मचारीलाई सोधियो स्पष्टिकरण
बाजुरा: बाजुराको हिमाली गाउँपालिकाले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी चुनावी प्रचारमा संलग्न भएको आरोपमा तीन जना कर्मचारीसँग स्पष्टिकरण सोधेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले गाउँपालिकाका कर्मचारी जनक मल्ल, स्वास्थ्य इकाइ प्रमुख दीपक भण्डारी र इन्जिनियर राज मल्ललाई स्पष्टिकरण सोधिएको जानकारी दिएका छन्।
निर्वाचन आयोगको निर्णयअनुसार २०८२ साल माघ ५ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उनीहरूले सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाले सम्बन्धित तीनै जनालाई दुई दिनभित्र गाउँपालिकामा उपस्थित भई स्पष्टिकरण पेश गर्न पत्राचार गरेको छ। तोकिएको समयभित्र स्पष्टिकरण पेश नगरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन तथा निजामती सेवासम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।
प्रमुख प्रशासकीय अधिकृत थापाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्दै आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारीलाई स्पष्टीकरण सोध्नु बाजुरामा पहिलोपटक भएको बताए।