सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा निर्वाचन २०८२ मा युवाको बलियो उपस्थिति

२०८२ माघ ७, ०१:३८ खबर संवाददाता

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उम्मेदवारको समग्र संख्यासँगै युवा उमेर समूहको सहभागिता र उत्साह उल्लेखनीय रूपमा बढेको देखिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना उम्मेदवार, अर्थात् १६।७३ प्रतिशत, प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्, जुन अघिल्ला निर्वाचनको तुलनामा उल्लेख्य वृद्धि हो ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसले युवामा राजनीतिप्रति बढ्दो चासो र परिवर्तनको चाहनालाई स्पष्ट रूपमा झल्काएको छ । लामो समयदेखि अनुभवी तथा स्थापित नेताहरूको वर्चस्व रहेको राजनीतिमा यसपटक युवाले आफ्ना मुद्दा, एजेन्डा र नेतृत्व क्षमतासहित प्रभावशाली उपस्थिति जनाएका छन् ।

युवाको सक्रिय सहभागितासँगै राजनीतिक दलहरूको दृष्टिकोणमा पनि आंशिक परिवर्तन देखिएको छ । अधिकांश दलहरूले अघिल्ला निर्वाचनको तुलनामा बढी संख्यामा युवालाई उम्मेदवार बनाएका छन् । संगठन विस्तार, सामाजिक सञ्जालमार्फत जनसम्पर्क, स्थानीय मुद्दाको उठान र चुनावी अभियानको नेतृत्वमा युवालाई प्राथमिकता दिएको देखिन्छ ।

यस्तै, ३६ देखि ५० वर्ष उमेर समूह पनि संख्यात्मक रूपमा अगाडि रहेको छ । युवा उमेर समूहको बढ्दो उपस्थितिले आगामी दिनमा राजनीतिक नेतृत्व हस्तान्तरणतर्फको संकेत दिएको विश्लेषण गरिन्छ । युवाको यो उत्साह र सहभागिताले निर्वाचन परिणाम मात्र नभई दीर्घकालीन रूपमा नेपाली राजनीतिक संस्कृतिमा नयाँ बहस र परिवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

समग्रमा, प्रतिनिधिसभा निर्वाचन २०८२ अनुभव र युवाको संयोजनका रूपमा अघि बढ्दै गएको देखिन्छ, जहाँ युवाको जोशले राजनीतिक प्रतिस्पर्धालाई थप गतिशील बनाएको छ ।
 

कमेन्ट लोड गर्नुस