सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल विकास समितिको अध्यक्षमा दुर्गा जोशी, महाकालीमा कृष्ण जोशी

२०७६ साउन ३०, ०६:४३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बैठकले सेती र महाकाली अस्पताल विकास समितिका अध्यक्षको नियुक्ति गरेको छ। गठन आदेश मन्त्रीपरिषद्बाट पारित भएको झण्डै ६ महिनापछि सेती र महाकाली अस्पतालले विकास समितिको अध्यक्ष पाएको हो। 

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सेती अस्पतालमा दुर्गादत्त जोशी र महाकाली अस्पतालमा कृष्णदत्त जोशी ’बोक्सर’ लाई अध्यक्षमा नियुक्त गरेको हो। सेतीमा नियुक्त भएका जोशी धनगढी उप–महानगरपालिकामा मेयर पदमा पराजित उम्मेदवार हुन् भने नेकपा जिल्ला कमिटी सदस्य पनि हुन्। 

सुदूरपश्चिमभरीका अस्पतालहरु झण्डै १३ महिनादेखि विकास समिति विहिन थिए। अस्पताल विकास समिती गठन आदेश २०१३ खारेज भएपछि सुदूरपश्चिमका अस्पतालहरु २०७५ जेठदेखि नै विकास समिति विहिन थिए। अन्य अस्पतालमा पनि विकास समिति गठन हुनुपर्ने भएपनि गठन आदेशमा केही संसोधन गर्नुपर्ने भन्दै गरिएको छैन्। 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल व्यवस्थापन गठन आदेशको स्वीकृतीका लागि मन्त्रीपरिषदमा फाईल पठाएपछि मन्त्रीपरिषद्को पौष १८ गतेको निर्णयले गठन आदेश पारित गरेको थियो। १५ शैयामाथिका सवै अस्पतालमा विकास समिती गठन गर्नुपर्ने हुन्छ।

मालाखेती अस्पताल कैलाली, जोगबुडा अस्पताल डडेल्धुरा, गोकूलेश्वर अस्पताल दार्चुलालाई प्रदेश सरकारले १५ शैयाबाट २५ सैयाको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कञ्चनपुरलाई २५ सैयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरिसकेको छ। 

विकास समितीको अभावमा दीर्घकालिन र अल्पकालिन योजनाहरु बनाउन समस्या भएको अस्पतालहरुले बताउँदै आउका थिए। अस्पताल विकास समितीहरुलाई अस्पतालको व्यवस्थापन र संचालन गर्ने, अस्पताल व्यवस्थापनको लागि दीर्घकालिन तथा अल्पकालिन योजना तर्जुमा गर्ने गराउने, आवश्यक साधन र श्रोत जुटाउने, अस्पतालको बजेट स्वीकृत गर्ने, अस्पतालको सेवा शुल्क निर्धारण गर्ने, भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्ने लगायतका अधिकार दिईएको हुन्छ। 
 

कमेन्ट लोड गर्नुस